३२ असार २०८३, बिहीबार

अध्यादेशको बाटो खुल्यो? गृहमन्त्री लेखकको दाबी, “सबै सहमत भइसके”

एसीपी संवाददाता

३ फाल्गुन २०८१, शनिबार १६:०६ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेश संघीय संसद्को दुवै सदनबाट स्वीकृत हुने वातावरण बनिसकेको दाबी गरेका छन्।

शनिबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिस्थापन विधेयकमा सबैको भावना समेट्ने सहमतिसहित अध्यादेश पारित हुने सुनिश्चित भइसकेको बताए। “प्रतिस्थापन हुन्छ, हामी सहमति गरेर अगाडि बढ्छौं। भूमिसम्बन्धी प्रतिस्थापन गर्दा सबैको भावना समेटिन्छ,” गृहमन्त्री लेखकले भने।

जसपाको अनुपस्थिति, तर टेलिफोन सहमति?

बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन्। गृहमन्त्री लेखकका अनुसार, यादव काठमाडौं बाहिर रहेका कारण बैठकमा उपस्थित हुन सकेनन्। तर, उनसँग फोन वार्ता भइसकेको र जसपा नेपाल पनि अध्यादेशका विषयमा सहमत भइसकेको उनको दाबी छ।

“उपेन्द्रजी र राजकिशोर यादवजीसँग फोनमै वार्ता भयो। प्रत्यक्ष उपस्थित हुन नसके पनि सहमति भइसकेको छ। अब हामी सहमतिअनुसार अघि बढ्छौं, अध्यादेश स्वीकृत हुन्छ,” उनले भने।

अध्यादेश ६ फागुनमा संसद्मा पेश गरिने

गृहमन्त्री लेखकका अनुसार, अध्यादेश ६ फागुनमा संसद्मा पेश गरिनेछ। उनले भने, “राष्ट्रिय सभा ६ गते बसेपछि सम्भवतः त्यसै दिन अध्यादेश पेश गरिन्छ।”

सरकारले अध्यादेश पारित गराउने तयारी तीव्र पारिरहेको देखिन्छ। यद्यपि, गठबन्धनमै रहेका कतिपय दलहरूको मौनता र बाहिर चर्चा भइरहेका असहमतिहरूले संसद्मा अध्यादेश सहजै पारित हुने वा नयाँ खिचातानी सुरु हुने भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x