नेकपा पार्टी चरम संकटमा छ,जुनसुकै बेला जे पनि हुन सक्छ,तयार अवस्थामा रहनुस् ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वले पार्टीमा देखिएको संकट समाधान गर्न नसकिरहेका बेला गण्डकी प्रदेश र जिल्लास्तरमा पनि तीव्र गुटगत भेला भइरहेका छन् ।
सचिवालयले निकास दिन नसकेपछि विवाद स्थायी कमिटीमा पुगेको छ । र, २१ गते सुरु भएर स्थगित भएको नेकपा स्थायी कमिटीको बैठक भोलि आइतबार पुनः बस्दैछ । स्थायी समितिकै बैठक अगाडि शनिबारसम्म गण्डकी प्रदेश र अन्तर्गतका जिल्लाहरुमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले छुट्टाछुट्टै भेला गरेका छन् । र, आफ्नो पक्षलाई भनेका छन्, ‘पार्टी चरम संकटमा छ । जुनसुकै बेला जे पनि हुन सक्छ, तयार अवस्थामा रहनुस् ।’
दुबै पक्षका भेलामा नेताहरुले आफूहरु एकताको पक्षमै रहेको भन्दै एकअर्कालाई दोषारोपण गरेका छन् । कसका कारण संकट आयो र विभाजन भयो भने कसका कारण हुन्छ भनेर जनतालाई बुझाउनुपर्ने भन्दै नेताहरुले दाबी गरेका छन्, ‘भावनात्मक एकता टुटे पनि हामी पार्टीगत एकताकै पक्षमा हौं ।’
पछिल्लो पटक गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले पोखरामा पूर्वमाओवादी पक्षका प्रदेश तथा केन्द्रीयस्तरका नेतालाई बोलाएर भेला गरेका छन् । कास्की जिल्लास्तरमा बुधबारमात्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेताहरुको भेला भएको थियो ।
अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को छुट्टै भेला गरेको छ । शनिबार मुख्यमन्त्री तथा प्रदेश ईन्चार्ज पृथ्वीसुब्बा गुरुङ, सहईन्चार्ज खगराज अधिकारीको उपस्थितिमा अर्को भेला भएको छ ।
आफ्नो समूहको भेलामा ओली समूहले नेताहरुले प्रचण्ड–माधव समूहका कारणले पार्टी यो अवस्थामा आएको बताएका छन् । प्रचण्ड–माधव समूहको भेलामा भने नेताहरुले ओलीप्रवृतिले पार्टी धेरै अगाडि जान नसक्ने बताएका छन् ।
ओलीलाई एक्ल्याउने दुश्प्रयासः ओली समूह
ओली समूहको शनिबार कास्कीमा भएको भेलामा मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले मुखमै रहेको महाधिवेशन पर्खन नसकेर पार्टीमा संकट ल्याउने काम भएको बताएका छन् ।
जताततै पूर्व एमालेले जितेर लहर चलेका बेला पूर्व माओवादीसँग एकता गर्न अध्यक्ष ओलीले ठूलो त्याग गरेकको मुख्यमन्त्रीको भनाइ थियो । सम्बोधनका क्रममा उनले पूर्व माओवादी र माधव नेपालसँग राजनीतिक संस्कार नै नभएको बताएको भेलामा सहभागी एक नेताले बताए ।
गुटको भेलालाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री गुरुङले पार्टीमा संकट निम्त्याएर गुटगत भेला गर्दै हिँड्ने माओवादीजस्तो आफुहरु नभएको दाबी गरे । प्रदेश अध्यक्षले ११ वटै जिल्लामा भेला गर्दै हिँडेको विवरण आफूसँग रहेको, तर आफुहरुले त्यसो नगर्ने मुख्यमन्त्रीले बताएका थिए ।
उनले पार्टीका वरिष्ठ नेता माधव नेपालको चर्को आलोचना गरे । ‘महाधिवेशन आउन केही महिनामात्र बाँकी रहँदा माधव नेपालले कुन हैसियतले ओलीको राजीनामा माग्न मिल्छ,’ मुख्यमन्त्री गुरुङको प्रश्न थियो । पार्टी फुटाउने र ओलीलाई एक्लाउने दुश्प्रयास गरे सफल नहुने गुरुङको दाबी थियो ।
पोखराको साइमन पार्टी प्यालेसमा भएको ओली समूहको भेलामा सहइन्चार्ज तथा केन्द्रीय सदस्य खगराज अधिकारीले भावनात्मक हिसाबले पार्टी फुटिसकेको भएपनि पार्टी एकता बचाउन आफूहरु संघर्षरत रहेको बताएका थिए । पार्टी एकतामा ठूलो त्याग गरेको ओलीलाई एक्ल्याउन केही मिडियासमेत लागिपरेको अधिकारीको भनाइ थियो । प्रदेश कमिटीको बैठक बोलाउन पटकपटक पहल गरे पनि अध्यक्षले नचाहेको अधिकारीले भेलामा बताएका थिए ।
भेलाको अध्यक्षता गरेका प्रदेश सांसद तथा नेकपा कास्की अध्यक्ष कृष्ण थापाले एकताका पक्षधर र मन मिल्नेहरुलाई बोलाएर भेला गरेको बताए । ‘यो एकताका पक्षधरहरुको भेला हो । एकताका पक्षमा रहेका मन मिल्ने पूर्व माओवादीसँग पनि भेला गर्छौं,’ थापाले भने । भेलामा करिब डेढ सय उपस्थित थिए ।
गण्डकी प्रदेशमा ओली समूहको बहुमत छ । गण्डकी प्रदेश संसदमा नेकपाका ४१ सांसदमा बागलुङका ईन्द्रलाल सापकोटाबाहेक अरु ओली समूहकै हुन् । १२ जना पूर्व माओवादीका छन् ।
ओलीप्रवृतिले पार्टी अगाडि जाँदैनः पूर्व माओवादी
नेकपा प्रदेश अध्यक्ष पाण्डेले बोलाएको पूर्व माओवादीको भेलामा ओलीकै कारण संकट निम्तिएको र व्यक्ति हावी भएर पार्टी सिद्धान्त, विधिबेगर चलेको बताए । ओली प्रवृतिले पार्टी धेरै अगाडि जान नसक्ने भएकाले जस्तो परिस्थिति आएपनि सामना गर्न तम्तयार हुन पाण्डेले आग्रह गरे ।
पाण्डेले डाकेको भेलामा प्रदेश सहईन्चार्ज यशोदा सुवेदी, पूर्व माओवादीका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज राजकाजी गुरुङकरण, गण्डकी नेकपा संसदीय दलका उपनेता रामजी बराल, सचेतक गायत्री गुरुङ, दीपक कोइराला, लगायत सहभागी भएका थिए । पोखरा वुद्धचोकस्थित लेकाली चुलोमा भएको भेलाको निश्कर्ष थियो, ‘यही अवस्थाले पार्टी चल्दैन, तल्लो तहलाई बुझाउन ढिला नगरौं ।’
पार्टीमा अहिलेको संकण के हो र कसका कारण पार्टीमा यो अवस्था आयो भन्ने विषयमा छलफल भएको भेलामा सहभागी प्रदेश सदस्य तथा गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले बताए ।
भेलामा प्रदेश अध्यक्ष पाण्डेले कार्यकारी अध्यक्षले पार्टीमा पेश गरेको प्रस्तावका विषयमा तलसम्म लैजान आग्रह गरे । ‘पार्टी फुट्यो भने केपी ओलीका कारण फुट्न सक्छ, यो जनतालाई बुझाउनुपर्छ भन्ने विषयमा छलफल भएको थियो,’ बैठकमा सहभागी अर्का एक नेताले भने ।
सरकार वा कुनै व्यक्ति पार्टीभन्दा माथि हुन नसक्ने तर ओलीले बलमिच्याइँ गर्ने र एकलौटी गर्ने गरेको नेताहरुले बताए । पार्टी र सरकार विधि-विधानभन्दा बाहिरबाट चलेकाले यो संकट निम्तिएको र सधैं यसरी नचल्नेबारे भेलामा छलफल भएको कास्की ईन्चार्ज राजकाजी गुरुङले बताए ।
आक्रामक माधव नेपाल समूह
कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहका नेताहरुले बुधबार कास्कीमा छुट्टै भेला गरेका थिए । पृथ्वीचोकस्थित नेपाल ट्रेड युनियन महासंघ जिफण्डको कार्यालयमा भएको पूर्व माओवादी र माधवकुमार नेपाल समूहको भेलामा कास्कीका नेता कार्यकर्ता सहभागी थिए ।
जिल्ला ईन्चार्ज राजकाजी गुरुङले नेतृत्व गरेको भेलामा आफुहरु नै संस्थापक भएकाले पार्टी एकताको सन्देशलाई जनतामा लैजानुपर्ने नेताहरुले बताएका थिए । माधव नेपाल समूहका चुणामणि जंगली, श्रीनाथ बराल, सदाखर भण्डारी लगायत नेताहरु सहभागी थिए । भेलामा नेपाल पक्ष बढी आक्रामक थिए ।
ओलीकै कारण आज पार्टी, सरकारको आलोचना, गटबन्दी, भ्रस्टाचार मौलाएको भेलामा माधव नेपाल समूहका पक्षले आवाज उठाएका थिए । ओली सिंगो पार्टीलाई नभएर गुटलाई काखी च्यापेको उनीहरुको आरोप थियो । कास्कीमा नेपाल समूहलाई बहुमतमा रहेको ओली पक्षले सधैं पाखा लगाएको आरोप छ ।
पार्टीको समसामयिक विषयमा छलफल गर्न साथी भाइ जुटेर चिया गफ गरेको नेकपा कास्की सचिव बखानसिंह तमुले जानकारी दिए । ‘पार्टीमा कसरी संकट निम्तियो, के कारणले यस्तो अवस्था आयो भन्ने विषयमा छलफल भएको थियो,’ तमुले अनलाइनखबरसँग भने, ‘अब जिल्ला जिल्लामा पनि औपचारिक, अनौपचारिक कार्यक्रम गरेर जनतालाई बुझाउनुपर्छ भन्ने हो ।’
कास्कीमा गएको मंसिर ८ मा स्थायी कमिटी सलस्य सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहेर नेपाल समूहको भेला भएको थियो । भेलामा मनाङ, मुस्ताङ, लमजुङ र गोरखाबाहेक सात जिल्लाका अगुवा नेता सहभागी थिए ।
ओली समूहको विद्यार्थी भेला
पार्टी चरम संकटमा रहेकाले जुनसुकै अवस्थाको पनि सामना गर्ने र जिल्ला जिल्लामा तत्तयार अवस्था रहने निश्कर्षसहित पोखरामा ओली निकट विद्यार्थीको भेला सम्पन्न भएको छ । नेकपामा आएको अहिलेको संकट र त्यसको कारणबारे विद्यार्थी बुझाउन भन्दै अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल, कास्की संयोजक आशिर्वाद सुवेदी लगायतले भेला गरेका हुन् ।
पोखराको लिचिबोट पार्टी प्यालेसमा भएको प्रदेशस्तरीय भेलामा अनेरास्ववियुका केन्द्रीय संयोजक संयोजक ऐन महर, अखिलको पूर्व उपाध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य रश्मी आचार्य, महेश गर्तौला, सुनीता बराल, शैलेस लामा लगायतले सम्वोधन गरेका थिए । ‘अहिलेको नेकपाको संकट के हो र अब कता जाँदैछ, यसको समाधान के हो भनेर बुझ्न, बुझाउन विद्यार्थीको भेला गरेका थियौं,’ पौडेलले भने, ‘अब एकताको पक्षमा मोहोल बनाउन र जुनसुकै परिस्थितिको पनि सामना गर्न जिल्ला जिल्लामा तयार रहने निश्कर्ष छ ।’
महाधिवेशन नजिकै हुँदा पार्टीमा किचलो निम्त्याउने र स्वास्र्थको पछि लाग्ने प्रचण्ड–माधव समूहका कारण संकट निम्तिएको विद्यार्थी नेताहरुले बताएका थिए । भेलामा अहिलेको पार्टीको संकट निम्त्याउन सबैभन्दा ठूलो हात माधव नेपालको रहेको आवाज उठेको थियो ।
‘ओली समूहलाई एक्याउने र भोलि पाखा लगाउन अवस्था आउन सक्छ । त्यो अवस्थामा देशैभरि हामीले आवाज उठाउनुपर्ने हुन सक्छ,’ भेलामा अनेरास्ववियु संयोजक महरले निर्देशन दिएका थिए । अनलाइनखबर बाट


