३२ असार २०८३, बिहीबार

शिव र शक्त्तिको मिलन अर्थात् महाशिवरात्रि ।

एसीपी संवाददाता

१४ फाल्गुन २०८१, बुधबार १६:४५ मा प्रकाशित

ऋतु परिवर्तनसँगै मन पनि उल्लासमय हुने अवधिमा नै पर्छ शिवरात्रि।
शिव पुराणका प्रमुख १२ संहिताको अध्ययनले शिवको महिमाबारे थप प्रष्ट बनाउँछन्।

भगवान शिवको अष्टमुर्तिमध्ये यजमान स्वरुपको प्रतिक हो, पशुपतिनाथ मन्दिर। क्षितिमूर्ति-सर्व,जलमूर्ति-भव, अग्निमूर्ति-रूद्र, वायुमूर्ति-उग्र,आकाशमूर्ति-भीम, यजमानमूर्ति-पशुपति, चन्द्रमूर्ति-महादेव, सूर्यमूर्ति-ईशान यी शिवका अष्टमुर्ति स्वरुप हुन्।

माघकृष्ण चतुर्दश्यामादिदेवो महानिशि।।
शिवलिंगतयोद्रूतस् कोटिसूर्यसमप्रभ॥

भगवान शिव अर्धरात्रिमा शिवलिंग रूपमा प्रकट भएका हुन् भन्ने विश्वास छ। त्यसैले शिवरात्रि व्रत अर्धरात्रिमा रहने चतुर्दशीलाई ग्रहण गर्नुपर्छ।

आराध्यदेव पशुपतिनाथको दर्शन विधि र प्रक्रिया आँफैमा महत्वपुर्ण छ ।

मुलगेटबाट प्रवेश गरिसकेर ब्रह्माको मन्दिर परिक्रमा गर्दै पशुपतिको दर्शन सुरु गर्नुपर्छ ।

नन्दी, भृङ्गीलाई साथ लिएर ताण्डव गर्ने भगवान शिवका विभिन्न रुप छन्। हामी हाम्रो कुन रुपले शिवको कुन रुपको दर्शन गर्छौं त्यो पनि महत्वपूर्ण कुरा रहन्छ।

आरण्य संस्कृति र सिन्धुघाटीको सभ्यता सम्झदैँ देवोका देव महादेवका विभिन्न नाम र रुप भोलेनाथ, शंकर, महेश, रुद्र, नीलकंठ, गंगाधर आदिलाई शिवरात्रीका दिन जसरी सम्झे पनि सम्झन सकिन्छ।

संहारकर्ता मात्रै होइन अनादि र सृष्टिका श्रोत पनि हुन् शिव। लय र प्रलयका द्योतक हुन् शिव। लयमा चल्नु छ भने शिवको आराधना गर्नैपर्छ। प्रलय स्वीकार्न पनि भगवान शिव सम्झनुस्।

भगवान शिवलाई सम्झन यी थप नाम र रुप पनि छन् जस्तो कि: महाकाल, आदिदेव, किरात, शंकर, चन्द्रशेखर, जटाधारी, नागनाथ, मृत्युंजय, त्रयम्बक, महेश, विश्वेश, महारुद्र, विषधर, नीलकण्ठ, महाशिव, उमापति, काल भैरव, भूतनाथ, ईवान्यन शशिभूषण आदि आदि।

‘वेदो शिवम् शिवो वेदम्’ परमात्मा शिवको यही स्वरुपबाट नै मानव शरीरलाई रुद्रबाट शिव बन्ने ज्ञान मिल्छ भन्ने विश्वास पनि छ।

नंदी, भृंगी, रिटी, टुंडी, श्रृंगी, नन्दिकेश्वर, बेताल, पिशाच, तोतला र भूतनाथ शिवका गुणहरु हुन्।

नारद संहितामा उल्लेख भएअनुसार जुन तिथिको अर्धरात्रि फाल्गुन कृष्ण चतुर्दशी हो त्यही दिन शिवरात्री मनाएमा अश्वमेध यज्ञ गरेजतिकै फल मिल्छ।

ईशान संहितामा लेखिएअनुसार शिवरात्रिका दिन ज्योतिर्लिंग को प्रादुर्भाव भएको मानिन्छ। त्यसकै प्रभाव शक्तिस्वरूपा पार्वतीले मानव सृष्टि मार्ग खुल्ला गरेको विश्वास छ।

फाल्गुन कृष्ण चतुर्दशीको दिनमा नै महाशिवरात्रि मनाउने कारण मध्येको एउटा कारण यो दिन क्षीण चन्द्रमाका माध्यमबाट पृथ्वीमा अलौकिक लयात्मक शक्ति आउँछ भन्ने मान्यता छ।

त्यही शक्तिले जीवनीशक्तिको वृद्धिसमेत गराउँछ। विश्वास यो पनि गरिन्छ कि, माता पार्वतीले पतिस्वरुप महादेव स्वामी पाउँ भनेर गरेको तपस्याको फल हो शिवरात्रि।

आध्यात्मिकरूपमा शिवरात्रिलाई प्रकृति र पुरुषको मिलनको रातका रुपमा पनि लिइन्छ। यो शिवरात्रिको अवधि वसन्त ऋतुको वैभवबाट उत्पन्न भएको समयका रुपमा पनि शास्त्रहरुमा उल्लेख भएको पाइन्छ।

ॐ नम: शिवाय ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x