३२ असार २०८३, बिहीबार

सबै दललाई समेटेर संविधान संशोधन प्रक्रिया अघि बढाईने – महामन्त्री थापा

एसीपी संवाददाता

१७ फाल्गुन २०८१, शनिबार २३:३४ मा प्रकाशित

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सबै दललाई समेटेर संविधान संशोधन प्रक्रियालाई परिपक्व बनाएर अघि बढ्ने बताएका छन् । महामन्त्री थापाले कसैको अधिकार नघटाई थप व्यवस्थित बनाउने गरी संविधान संशोधन गरिने बताए । उनले अब केही दिनमै संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बनाइने समेत जानकारी दिए ।

पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेस र डेमोक्रेटिक लयर्स एसोसिएसनले आज नेपालगञ्जमा आयोजना गरेको ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले निर्वाचन प्रणाली, संघीयता र सुशासन सुदृढ हुने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचन अघिको गठबन्धन अप्रिय बनेको अनुभव सुनाउँदै त्यसलाई पनि मध्यनजर गर्नुपर्ने बताए । महामन्त्री थापाले उत्तेजनाको राजनीतिले मुलुकलाई फाइदा नहुने भन्दै संयमित बन्नुपर्ने आवश्यकता औंल्याए । थापाले वि.सं. २०८०-९० को दशकलाई विकासको दशक बनाउनुपर्ने बताएका छन् । उनले अबको दश बर्ष विकास, रोजगार र समुन्नतिका लागि काम गर्नुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, केन्द्रीय सदस्यहरु डा. गोविन्द राज पोखरेल, मैकुलाल बाल्मिकी र रंगमति शाही, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, सहमहामन्त्री निमा गिरी, बाँके सभापति नारायण प्रसाद गौडेल, संविधानविद् काशी राज दाहाल, अधिबक्ता प्रहलाद बहादुर कार्की, पेशागत तथा बुद्धिजीवी विभाग लुम्बिनी प्रमुख लक्ष्मण पन्थी लगायतले सम्बोधन गरेका थिए । कांग्रेस केन्द्रीय सदस्य एवम् पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x