महोत्तरीमा बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट स्थापनाका लागि साउदी सरकारको १० लाख डलर सहयोग
काठमाडौँ – नेपाल सरकारले व्यवसायिक प्रशिक्षणमार्फत सुरक्षित, व्यवस्थित तथा मर्यादित रोजगारीको सुनिश्चितता गर्ने लक्ष्यसहित महोत्तरी जिल्लाको बलवा नगरपालिकामा बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट (व्यावसायिक प्रशिक्षण केन्द्र) स्थापनाको प्रक्रिया अघि बढाएको छ। यस परियोजनाका लागि साउदी सरकारले प्रारम्भिक पूर्वाधार निर्माण गर्न १० लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ। साथै, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) नेपालको प्राविधिक सहयोग रहनेछ।
नेपाल सरकारले “राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८१” जारी गरी व्यावसायिक तालिमलाई थप प्रभावकारी बनाउने नीति अवलम्बन गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (CTEVT) तथा मातहतका प्रशिक्षण केन्द्रमार्फत श्रम बजार लक्षित सीपमूलक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने योजना सरकारले अघि सारेको छ।
मधेश प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापनाको पहिलो चरण
रोजगारीका लागि श्रम बजारमा प्रवेश गर्ने संख्याका आधारमा पहिलो चरणमा मधेश प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने सरकारको निर्णय रहेको छ। नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८१/११/०६ को निर्णयअनुसार, मिति २०८१/११/२० गते भूमि सुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता भई “व्यावसायिक प्रशिक्षण केन्द्र, बलवा” को भवन निर्माणका लागि सरकारी जग्गा प्राप्त भइसकेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रमुख श्रम गन्तव्य मुलुकहरूसँग द्विपक्षीय समन्वय बढाउँदै श्रम बजार लक्षित दक्ष तथा सीपयुक्त जनशक्ति उत्पादन गर्ने नीति लिएको छ। यसै क्रममा साउदी सरकारले नेपाललाई आर्थिक सहयोग उपलब्ध गराएको हो।
व्यावसायिक प्रशिक्षण केन्द्रको महत्व
नयाँ प्रशिक्षण केन्द्रको स्थापनाले निम्न फाइदा हुनेछः
✔ सीपयुक्त जनशक्ति उत्पादन – श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गरी वैदेशिक तथा स्वदेशी रोजगारीका अवसर सिर्जना गर्ने।
✔ श्रमको सम्मानजनक स्थिति कायम – योग्यताअनुसार सेवा-सुविधायुक्त रोजगार सुनिश्चित गर्ने।
✔ स्थानीय तथा अन्तर्राष्ट्रिय रोजगार अवसर वृद्धि – नेपाली युवालाई प्रतिस्पर्धी बनाउँदै स्वरोजगार तथा विदेशी रोजगारीका लागि दक्ष बनाउने।
✔ श्रम बजार सुधार – सामाजिक सुरक्षा तथा दीगो व्यवस्थापनमा टेवा पुर्याउने।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीति निर्देशनमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्रहरू विस्तार गर्ने लक्ष्य राखेको छ। सरकारले यस कार्यलाई प्रभावकारी बनाउन निजी क्षेत्र, उद्योग संघसंस्था तथा स्थानीय समुदायहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस परियोजनाले नेपालमा व्यावसायिक शिक्षाको क्षेत्रमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ।



