३२ असार २०८३, बिहीबार

माओवादी नेताहरूले ८ क्विन्टल सुन तस्करी गरेको गम्भीर आरोप

एसीपी संवाददाता

२४ फाल्गुन २०८१, शनिबार १७:०९ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा माओवादी नेताहरूले ८ क्विन्टल सुन तस्करी गरेको गम्भीर आरोप लगाएका छन्।

शनिबार बाँकेमा आयोजित पार्टी कार्यक्रममा बोल्दै पोखरेलले माओवादी नेताहरूले एकातिर पशुपतिमा पित्तलको जलहरी चढाएको हल्ला फैलाएको तर अर्कोतिर सुन तस्करीमा संलग्न रहेको दाबी गरे। उनले माओवादीले विगतमा पनि हल्ला एकातिर चलाएर आक्रमण अर्कोतिर गर्ने रणनीति अपनाएको भन्दै अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको बताए।

सुनको जलहरीलाई पित्तल भन्दै हल्ला गरियो, तर आफैं सुन तस्करी गरे

पोखरेलका अनुसार सरकारले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न बजेट दिएको थियो, तर माओवादी नेताहरूले संसद्मै उभिएर जलहरी सुनको नभई पित्तलको रहेको आरोप लगाए। तर, छानबिनपछि जलहरी सुनकै भएको पुष्टि भएको उनले बताए।

‘जलहरी सुनकै हो भन्ने प्रमाणित भइसक्दा पनि माओवादीले त्यहीँबाट सुन तस्करीको खेल खेल्यो,’ पोखरेलले भने, ‘अहिलेसम्म माओवादीका थुप्रै नेताहरू सुन तस्करीको आरोपमा तानिइसकेका छन्। त्यतिबेला मात्र ८ क्विन्टल सुन अवैध रूपमा तस्करी भएको प्रमाण भेटिएको छ।’

भ्रष्टाचारको छानबिन गर्न खोज्दा माओवादी सत्ता छाड्न बाध्य भयो

पोखरेलले माओवादी नेतृत्वको सरकार भ्रष्टाचारका ठूला मुद्दाहरूको छानबिन हुन थालेपछि सत्ता छोड्न बाध्य भएको दाबी गरे।

‘माओवादीले राज्यसत्ताको दोहन गरेर भ्रष्टाचारको जालो बुन्यो। जब ठूला छानबिन प्रक्रिया अघि बढ्न थाल्यो, उनीहरू सरकारबाट बाहिरिए। जनयुद्धका नाममा गरेका अपराधहरूलाई शान्ति सम्झौताको ढाल बनाएर उम्किन खोजे, तर सत्य लुक्दैन,’ उनले भने।

पोखरेलले माओवादी नेतृत्वको विगतका गतिविधिहरूको पुनः समीक्षा आवश्यक रहेको भन्दै भ्रष्टाचार र तस्करीका घटनामा संलग्न जो–कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x