गणतन्त्रलाई असफल देखाउने प्रयास, देशलाई फेरि अँध्यारोमा लैजाने षड्यन्त्र हो – गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले गणतन्त्रप्रति बढ्दो शंका र निराशालाई तोड्दै गणतन्त्रको विकल्प खोज्ने कुनै ठाउँ नरहेको स्पष्ट पारेका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकमा समस्या त छन्, तर समस्या मात्रै देखाएर गणतन्त्रको मूल्य र उपलब्धि अवमूल्यन गर्ने प्रयास गलत भएको बताए।
मन्त्री लेखकले स्पष्ट शब्दमा भने, “नेपालमा बेरोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका समस्या छन् भन्ने म नकार्दिन, तर समस्यामात्र छन् भनेर चित्रण गर्नु गलत हो। चुनौतीका बीच पनि धेरै काम भएका छन् र सरकार निरन्तर प्रयासरत छ।”
उनले देशमा भएका सम्भावनाहरू पहिचान गरी कार्यान्वयनमा लाग्न सबै पक्षलाई आग्रह गरे। “समस्या हेरेर मात्र बसियो भने त्यो समस्याकै चाङमा च्यापिन्छौं। सम्भावना हेरेर अघि बढे विकास सम्भव छ,” भन्दै गृहमन्त्री लेखकले साझा प्रयासको आवश्यकता औंल्याए।
गणतन्त्र र लोकतन्त्रप्रति बढ्दो आलोचना र निराशाजनक प्रचारप्रति टिप्पणी गर्दै उनले भने, “गणतन्त्रले केही दिएन, लोकतन्त्रले केही भएन भन्दै निरङ्कुशताको पक्षपोषण गर्नु खतरनाक सोच हो। यसको पछि नलाग्न सबैलाई आग्रह गर्छु।” उनले गणतन्त्रको स्थापनापछि शिक्षामा पहुँच, स्वास्थ्य सेवाको विस्तार जस्ता महत्वपूर्ण उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै त्यसको गति अझै बढाउन आवश्यक रहेको बताए।
उनले आफ्ना छात्रजीवनको सन्दर्भ दिँदै भने, “हामी पढ्ने बेला स्नातक अध्ययन गर्न काठमाडौं वा भारत जानुपर्थ्यो, आज गाउँगाउँमा उच्च शिक्षा र स्वास्थ्य सेवा पुगेको छ। अब हामीले रोजगारी सिर्जना र सीप विकासमा ध्यान केन्द्रित गर्नुपर्छ।”
देशभित्रै रोजगारीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै उनले नेपाललाई श्रमिक मात्र होइन, आगामी १० वर्षभित्र विश्वस्तरको दक्ष जनशक्ति उत्पादन गर्ने देश बनाउने लक्ष्य लिएको बताए। “प्राविधिक धारका विश्वविद्यालयहरू मुलुकको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्दै छन्,” मन्त्री लेखकको भनाइ थियो।



