३२ असार २०८३, बिहीबार

नेपालमा चिनियाँ विस्तारवादलाई संस्थागत आरोप

एसीपी संवाददाता

१३ चैत्र २०८१, बिहीबार २१:४३ मा प्रकाशित

काठमाडौं –  राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले राजसंस्थाको पुनःस्थापनाको मागको मूल उद्देश्य नेपालमा चिनियाँ विस्तारवादलाई संस्थागत गर्नु रहेको आरोप लगाएका छ्न ।

राष्ट्रिय एकता अभियानले मंगलबार काठमाडौंमा आयोजना गरेको “राजसंस्थामा चिनियाँ विस्तारवाद“ विषयक छलफल कार्यक्रममा यादवले यस्तो आरोप लगाएका हुन् । यादवले नेपालका पूर्वराजाहरूले लिएका नीतिगत निर्णयहरू चीनको रणनीतिक हितमा कसरी उपयोग भएका छन् भन्ने विषयमापनि सविस्तार बताए ।

अध्यक्ष यादवले भने, “राजसंस्थाले कहिल्यै जनताको हितमा निर्णय गरेन, उसले सदैव विदेशी शक्तिसँग साँठगाँठ गरेर आफ्नो सत्तालाई जोगाउन खोज्यो। आज फेरि राजसंस्थाको नाममा चीनलाई नेपालमा गहिरो रणनीतिक प्रभाव जमाउन सजिलो बनाउने प्रयास भइरहेको छ।” उनले चिनियाँ लगानी, पूर्वाधार, शिक्षा, पर्यटन र सञ्चारका माध्यमबाट भइरहेको प्रभाव विस्तारप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे।

कार्यक्रममा अभियानका मधेश प्रदेश सम्पर्क समितिका संयोजक बिनोद सिंहले मुख्य कार्यपत्र प्रस्तुत गरे। उनले पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मका निर्णयहरूले नेपालमा चिनियाँ प्रभावलाई कसरी संस्थागत बनाएको छ भन्ने विषयमा ऐतिहासिक दृष्टान्त र कूटनीतिक सन्दर्भ प्रस्तुत गरे। उनले बहादुर शाहको तिब्बत हस्तक्षेप, महेन्द्र शाहको सीमा सन्धि र ज्ञानेन्द्र शाहको सार्कमा चीनको स्थायी सदस्यताका प्रयासजस्ता विषयहरूलाई प्रमाणका आधारमा विश्लेषण गरे।

कार्यक्रममा सहभागी वक्ताहरूले पृथ्वीनारायण शाहले तिब्बतसँग व्यापारिक सम्बन्ध विस्तार गरेर चीनसँगको प्रारम्भिक सम्पर्क सुरु गरेको, बहादुर शाहले चिङ चीनसँग अपमानजनक सन्धिमा हस्ताक्षर गर्न बाध्य भएको र त्रिभुवन शाहले चीनसँग कूटनीतिक सम्बन्ध कायम गरेपछि नेपालको विदेश नीतिमा असन्तुलन सुरु भएको ठहर गरे। महेन्द्र शाहको चीनसँगको सीमा सन्धिले नेपालको रणनीतिक स्वतन्त्रता गुमाएको र वीरेन्द्र शाहको शान्ति क्षेत्र प्रस्तावले चीनको समर्थन पाएपनि नेपालको सार्वभौम निर्णय क्षमतामा निर्भरता बढाएको बताए ।

ज्ञानेन्द्र शाहको पालामा चीनलाई सार्कमा स्थायी सदस्य बनाउन गरिएको पहलले नेपाललाई भारत–चीन रणनीतिक द्वन्द्वको संवेदनशील घेराभित्र पु¥याएको वक्ताहरूले बताए। उनीहरूले यस्ता निर्णयहरूलाई चिनियाँ हितअनुकूल भन्दै राजसंस्थाले कहिल्यै राष्ट्रको दीर्घकालीन हितमा काम नगरेको आरोप लगाए।

कार्यक्रमको सञ्चालन अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशीले गरेका थिए। कार्यक्रममा नेपाल शंकराचार्य पीठका अध्यक्ष दयाराम पाण्डेय, दलित अभियन्ता नरेन्द्र पासवान, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, अभियानका उपाध्यक्ष भूपेन्द्र चौधरी, महिला उद्यमी लक्ष्मी ज्ञवाली, प्राध्यापक शम्भू देव, र लोकगायक रविराज साहलगायत विविध क्षेत्रका व्यक्तित्वहरूको सक्रिय उपस्थिति थियो।मधेशसंदेश

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x