राजतन्त्र फर्किँदैन, जनताले ल्याएको गणतन्त्र हट्दैन : देउवाको स्पष्ट सन्देश
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै लोकतान्त्रिक गणतन्त्र जनताको इच्छा र संघर्षको उपज भएकोले रहरले हटाउन नसकिने स्पष्ट पारेका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै देउवाले संविधानसभा मार्फत जनताको समर्थनमा आएको व्यवस्थालाई उल्ट्याउने सोचप्रति तीव्र आपत्ति जनाए।
विपी कोईराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाहरूको नेतृत्वमा हामीले लडेर ल्याएको यो व्यवस्था रहरले फिर्ता लान खोज्नेहरूको कल्पना पनि व्यर्थ छ, सभापति देउवाले दोहोर्याए।
उनले वर्तमान गणतान्त्रिक संविधान समावेशी, समानुपातिक र सम्पूर्ण भूगोल तथा समुदायलाई अटाउने किसिमको भएकोले अब कुनै किसिमको त्रास वा शंका आवश्यक नरहेको उल्लेख गरे। “राजाले जस्तो कु गर्छन् भनेजस्तो कुरा अबको राष्ट्रपतिको हैसियतमा सम्भव छैन। प्रजातन्त्र अब हट्दैन, हट्न सक्दैन,” देउवाले दृढ रूपमा भने।
सभापति देउवाले पूर्वराजालाई परोक्ष रूपमा सम्बोधन गर्दै ‘रहर गरेर राजतन्त्र फर्किने होइन’ भन्दै यस्तो भ्रम नपाल्न आग्रह गरे। उनले संविधानले सबै वर्ग, समुदाय र भूभागको प्रतिनिधित्व सुनिश्चित गरेको भन्दै लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढ्न सबैलाई आग्रह गरे।
“गणतन्त्र जनताले मानिसकेका छन्, यो उनीहरूको रगत, पसिना र बलिदानबाट आएको हो,” देउवाको भनाइ थियो, “अब काम गर्ने कुरा यो व्यवस्थालाई अझ स्थायी र सुदृढ बनाउने हो।”



