बर्दियामा बाघको आक्रमण,एक जनाको गम्भीर
गुलरिया, बर्दिया – आज दिउँसो करिब १ बजे बर्दियाको गुलरियामा ७ वर्षीय सृजन चौधरी माथि बाघले आक्रमण गरी मकैबारीबाट तानेर छिमेकीको खेतसम्म लगिसकेको थियो। बालकको चिच्याहट सुनेपछि उनकी हजुरआमाले साहसिक तरिकाले बाघको मुखबाट उनलाई छुटाएर उद्धार गरिन्।
घटनामा गम्भीर घाइते भएका सृजनलाई तत्कालै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, संजीवनी क्लिनिक, नेपालगन्ज लगिएको छ, जहाँ अहिले उनको उपचार भइरहेको छ।
बालकको घाँटीको अगाडि तथा दुवै छेउमा गहिरो चिरा (लैसरेसन) चोट देखिएको छ। चिकित्सकहरूका अनुसार घाइतेको अवस्था गम्भीर छ र उनलाई विशेष निगरानीमा राखिएको छ।
स्थानिय बासिन्दाका अनुसार पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको छ। यसअघि पनि त्यही क्षेत्रमा बाघको आक्रमणका घटनाहरू दोहोरिएका छन्।
यस घटनाले वन्यजन्तु तथा मानवबीचको द्वन्द्व गहिरिँदै गएको संकेत गरेको छ। स्थानीयहरूले सम्बन्धित निकायलाई तत्काल उचित कदम चाल्न आग्रह गरेका छन्।



