३२ असार २०८३, बिहीबार

गगनको चुनौती: ‘जनता जितेको’ तिथि मिति छानेर राजा फर्किन्नन्, हिम्मत भए काला दिन छान्नुस्

एसीपी संवाददाता

२५ चैत्र २०८१, मंगलवार १८:५० मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चैत्र २६ गते जनता जितेको दिन भएको भन्दै राजावादीले यही दिन छानेर आन्दोलन थालेको आश्चर्य प्रकट गरेका छन्। मङ्गलवार(आज) राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राजसंस्था फर्काउन भन्दै काठमाडौँमा गरेको प्रदर्शनलाई लक्षित गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

‘आज चैत्र २६ गते हो। ३० वर्षपछाडि जनता जितेको दिन हो आज। गणेशमान सिंहको नेतृत्वमा तपाईँ र म रैतीबाट नागरिक भएको दिन हो आज। चैत्र २६ गतेको दिनमा म गणेशमान लगायत, २०४६ सालका सर्वोच्च कमान्डरलगायत त्यो आन्दोलनमा शहादत प्राप्त गर्ने सबै सहिदहरूलाई सम्झन चाहन्छु। उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु,’ गुल्मी कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘छक्क के परेको छु भने काठमाडौँमा पूर्वपञ्चहरुले राजा फर्काउनका निम्ति चैत्र २६ किन छान्नुभयो त्यो चाहिँ मैले बुझ्न सकेको छैन।’

महामन्त्री थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले फागुन ७ गते गरेको सम्बोधनमा पनि आफूलाई आश्चर्य लागेको बताए। उनले भने, ‘पूर्व राजाले जनता आह्वान गर्न छान्ने दिन पनि फागुन ७, आज पूर्व राजालाई आह्वान गर्न छान्ने दिन पनि चैत्र २६!’

पूर्व पञ्चलाई पनि जनता जितेको क्यालेन्डरबाट आन्दोलनको दिन दिनुपर्ने अवस्था आएको पनि उनले टिप्पणी गरे । ‘अनि मैले यहाँ बस्दाबस्दै के सोचे भने हामीले यो देशमा आन्दोलन गर्‍यौँ, यो गर्‍यौँ, त्यो गर्‍यौँ, त्यो त हुँदै हो। यतिसम्म गरेछौँ, गर्न भ्याएछौँ सबै मिलेर भने पूर्व पञ्चलाई कुनै आन्दोलन गर्नका लागि चाहिने दिन पनि हाम्रै क्यालेन्डरबाट दिनुपर्ने अवस्था आएछ। फागुन ७, चैत्र २६, वैशाख ११,’ उनले भने।

आफूले यो कुरा कुनै उत्तेजनामा आएर नगरेको महामन्त्री थापाले बताए। उनले भने, ‘साँच्चिकै हामी कुनै कार्यक्रम गर्ने हो भने चैत्र २६ मा गर्छौँ, फागुन ७ मा गर्छौँ, वैशाख ११ मा गर्छौँ, हामी जेठ १५ मा पनि गर्छौँ। यो वर्ष गणतन्त्र दिवस हामी भव्यताका साथ मनाउँछौँ।’

साँच्चिकै राजा ल्याउनुपर्छ भनेर भन्नेहरूको हिम्मत छ भने पुस १ गतेको कालो दिन छान्न महामन्त्री थापाले चुनौती दिए। ‘हिम्मत हो भने असोज १८ गते छान्नुपर्छ। माघ १९ छान्नुपर्छ,’ उनले भने, ‘माघ १९ मा जे गरियो, ठिक गरियो भन्ने हिम्मत राख्नुपर्छ। असोज १८, पुस १ गते जे गरियो ठिक गरियो भन्ने हिम्मत राख्नुपर्छ।’

फागुन ७ र चैत्र २६ जस्ता जनता जितेको दिन छानेर जनताको पराजय हुनुपर्छ भन्ने कुरा तिथि मितिबाट नमिल्ने पनि महामन्त्री थापाले दाबी गरे । नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x