कोरोना संक्रमणबाट निको भएर घर फर्किएकाहरुलाई स्वास्थ्य समस्या
प्रिया स्मृति ढकाल नेपालगन्ज एसिपी न्युज । कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्किएकाहरुलाई विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । भाइरस संक्रमणबाट मुक्त भएकाहरुमा छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, निद्रा नलाग्ने, हातखुट्टा दुख्ने जस्ता समस्याहरु लिएर अस्पताल आउनेको संख्या बढदै गएको छ ।
नेपालगन्जका–३८ बर्षीय पत्रकार दामोदर भण्डारी तीन महिना १६ दिन अघि कोरोना संक्रमित हुनुभयो । १४ दिन आइसोलेसनमा बसेर निस्कनुभयो । तर भाइरसमुक्त हुन सक्नु भएन् । ‘तीन-तीन पटक पीसीआर गर्दापनि मलाई संक्रमण पोजेटिभ देखायो उहाँले भन्नुभयो –‘करिव दुई महिनासम्म मलाई भाइरसले सताइरह्यो ।’
चौथो पटक पीसीआर गर्दा उहाँ बल्ल भाइरसमुक्त हुनुभयो तर डरमुक्त हुन भने अझै संघर्ष गरिरहनुभएको छ । भाइरसले छोडेकै छैन भन्ने शंका हटाउन उहाँले फेरि पीसीआर परीक्षण गराइसक्नुभयो । संक्रमणले शरीरको कुन अंगमा के असर पारेको छ भनेर सिटी स्क्यान, एक्सरे, रगत र अन्य विभिन्न परीक्षण पनि गराउनुभयो । रिपोर्टहरू सामान्य आएपनि उहाँलाई पहिलेजस्तो चयन छैन् ।
‘न रातमा निद्रा लाग्छ, न त दिउँसो काम गर्न जागर चल्छ । थोरै हिडे दम बढ्छ । साँझ सुत्दा र विहान उठ्दा हात खुट्टा चलाउनै सकिदैन’–उहाँले भन्नुभयो । भण्डारीमात्र होइन कोरोना संक्रमण निको भएकालाई विभिन्न स्वास्थ्य समस्या देखिन थालेको भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा खगेन्द्र जंग शाहले बताउनुभयो ।
भाइरसमुक्त भइसकेकाहरुमा हिड्दा थाक्ने, मुटुको धड्कन बढ्ने, छाती दुख्ने, निद्रा नलाग्ने जस्ता समस्या देखिन थालेपछि लक्षणसहित थला परेका बिरामी चिन्तामा छन् । नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका फिजिसियन डा सुभाष योगीले पोस्ट कोभिडमा मुटुको गति बढ्ने, लामो समय खोकी लाग्ने, निद्रा नलाग्ने, डर लाग्ने, छाती भारी हुने जस्ता समस्याबाट गुज्रिरहेको बताउनुभयो ।
‘मेडिकल कलेजमा पनि यस्ता विरामी आइरहनुभएको छ उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘हामीले सपोर्टिङ औषधि गरेर पठाउने गरेका छौं ।’ भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेका अनुसार, अहिले यस्ता समस्या लिएर अस्पताल आउने विरामीको संख्या बढ्दै गएको छ ।
कुनै पनि भाइरल संक्रमण निको भएपछि थकान हुने, कमजोरी हुने जस्ता समस्या आउनु सामान्य भएको चिकित्सक बताउँछन् । तर, कोरोना संक्रमणपछिका समस्या भने अन्य संक्रमणका असरभन्दा केही कडा देखिएकोे चिकित्सकहरुको भनाइ छ । प्रमुख कन्सल्टेन्ट फिजिसियन डा पाण्डेका अनुसार भाइरस संक्रमणबाट मुक्त भएकाहरुमा मनोबैज्ञानिक असर गम्भीर रुपमा देखिएको छ । ‘संक्रमणमुक्त भए पनि उनीहरूमा विभिन्न खाले मानसिक समस्या देखिएको छ’–उहाँको भनाइ छ ।
‘संक्रमित भएर लामो समय लक्षण नहराएका, कोरोनाका कारण परिवारका सदस्य गुमाएका र लामो समय संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा समेत यस्ता समस्या बढी देखिएको चिकित्सकहरु बताउँछन् । शारीरिक समस्या भए जस्तो महसुस गर्छन् तर अधिकांशको त्यो मानसिक समस्या हुने गरेको डा पाण्डेको भनाइ छ ।
फिजिसियन डा शाह यस्तो समस्या न्यूनिकरणका लागि खानपान र जीवनशैलीमा ध्यान दिन सुझाव दिनुहुन्छ । भिटामिन डियुक्त परिकार खाने र फोक्सोको थेरापी गर्नु उपयुक्त हुने उहाँको भनाइ छ । डा पाण्डे र डा योगी पनि खानपिनमा ध्यन दिनुका साथै चिसोबाट जोगिन सुझाव दिनुहुन्छ ।


