२३ आश्विन २०८३, शुक्रबार

हुम्लाको हिल्सा र लाप्चा नाका खुलेर पुनःबन्द

एसीपी संवाददाता

१ पुष २०७७, बुधबार १६:१६ मा प्रकाशित

सुर्खेत, हुम्ला — कोरोना महामारीको कारण करिब १० महिनादेखि बन्द रहेको हुम्लाको हिल्सा र लाप्चा नाका आइतबार एक दिनको लागि खुलेर पुनः बन्द भएको छ । नाम्खा गाउँपालिकाको अनुरोधमा उक्त दिन चीन सरकारले १६ वटा ट्रकमा सामान छोडेको थियो ।

सर्बसत्ताबाद,निरकुशं कम्युनिस्ट सरकार र बि.पी.को समाजबाद


आइतबार हिल्सा नाका भएर १२ वटा चिनियाँ ट्रकमा १ हजार ३ सय ७५ क्विन्टल पिठो, १ सय ७५ क्विन्टल चामल, ६ हजार जोर जुत्तासहित दाल, चिनी, कम्बल आएको थियो । यो सामान नाम्खाका ५ वटा वडामा वितरण गरिने गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । लिमी उपत्यकामा पर्ने वडा नम्बर ६ को हल्जी, जाङ र तिल गाउँका लागि भने सोही दिन ४ वटा ट्रकमा लाप्चा नाका भएर सामान आएको थियो । दुवै नाकाबाट करिब १ करोड मूल्यको सामान आएको अध्यक्ष लामाको भनाइ छ । ‘चीनबाट सामान नआइदिएको भए अन्य गाउँमा त जेनतेन अभाव टार्न सकिन्थ्यो, लिमीमा भने निकै गाह्रो थियो,’ उनले भने, ‘ढिलै भए पनि चीन सरकारले हाम्रो कुरा सुनेर नाका खोलिदिँदा राहत मिलेको छ ।’
समुद्री सतहदेखि करिब ५ हजार मिटर उचाइमा अवस्थित नारा लेकको कारण हिउँदमा लिमी उपत्यकाको जिल्ला सदरमुकाम सिमकोटसहित अन्य बस्तीसँग सम्बन्ध टुट्छ । त्यसैले लिमीवासी हिउँदका लागि भदौ–असोजमै खाद्यान्नको जोहो गरिसक्छन् । यसपटक कोरोनाको कारण दैनिक उपभोग्य सामानको जोहो गर्न नपाउँदा लिमीवासी बढी चिन्तित थिए । गाउँपालिकाले एक महिनाअघि मात्र सिमकोटबाट प्रतिकेजी ३५ रुपैयाँ ढुवानी अनुदान बेहोरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ५ सय क्विन्टल चामल लिमी पठाएको थियो । लिमीका तीनवटै गाउँमा १ सय ४५ घरधुरीमा करिब ७ सयजना बसोबास गर्छन् । आइतबार चीनबाट आएको र सिमकोटबाट गएको खाद्यान्नले हिउँदमा लिमीवासीलाई ढुक्क भएको गाउँपालिका अध्यक्ष लामाले बताए ।

अध्यक्ष लामाका अनुसार गाउँपालिकाले गत असोजमै केही दिनका लागि नाका खोलिदिन काठमाडौंस्थित चिनियाँ दूतावासलाई अनुरोध गरेको थियो । दूतावासले चीन सरकारसँग समन्वय गरी मंसिर अन्तिम साता ३ दिनको लागि नाका खोल्न अनुमति दिएको थियो । यद्यपि ढुवानी गर्नुपर्ने सामान एक दिनमै आयात भएकाले सोही दिन नाका बन्द गरियो । ‘हामीले सामान ढुवानी गर्न बढीमा तीन दिन लाग्ने अनुमान गरेर अनुमति मागेको थियौं, तर एक दिनमै सबै सामान आयो,’ अध्यक्ष लामाले भने, ‘अब त हिउँ पर्न सुरु गरेकाले नाका खाले खोले पनि उपयोगी हुँदैन ।’

तिब्बतसँग नाका जोडिएको नाम्खा गाउँपालिकाका करिब ९ सय घरधुरीका ४ हजार ५ सय बासिन्दा चिनियाँ बजारमा निर्भर छन् । उनीहरु हिउँदका लागि तिब्बतको ताक्लाकोट गएर चामल, पिठोलगायत बन्दोबस्तीका सामान ल्याउने गर्छन् । यस वर्ष कोरोनाको कारण फागुन–चैतमै नाका सिल भएपछि नाम्खावासी सकसमा परेका थिए । नेपाल सरकारले समेत पर्याप्त खाद्यान्न ढुवानी नगर्दा हिउँदमा भोकमरी हुने अवस्था आउन सक्थ्यो । त्यही अवस्थालाई मध्यनजर गर्दै ताक्लाकोटमा बस्ने नाम्खावासीसँग समन्वय गरी खाद्यान्नलगायत मालबस्तु खरिद गरेर ढुवानी गरिएको अध्यक्ष लामाले बताए । उनका अनुसार ताक्लाकोटमा नाम्खाका १ सय ४० जना व्यापारी बसोबास गर्छन् । गाउँपालिकामा खाद्यान्नलगायत सरसामान खरिदको लागि ६ वडाका ६ जनालाई ‘फोकल पर्सन’ तोकिएको थियो । ‘हामी (गाउँपालिका) जमानीमा बसेर उनीहरुले उताबाट सामान पठाए, यता पनि प्रत्येक वडामा एक जनालाई फोकल पर्सन तोकेर वितरणको जिम्मा दिएका छौं,’ अध्यक्ष लामाले भने, ‘खाद्यान्न र सामान बिक्री भएपछि पैसा उता पठाउँछौं ।’

चीनबाट आएको चामल र मैदा स्थानीयलाई नेपाली बजारबाट जानेभन्दा निकै सस्तो पर्ने गर्दछ । यसपटक पिठो प्रतिकेजी ७७ रुपैयाँ र चामल प्रतिकेजी ८२ रुपैयाँसम्म पर्छ । सरकारी ढुवानी अनुदानको चामल प्रतिकेजी ५५ रुपैयाँमा पाइने भए पनि बजारबाट खरिद गर्दा भने चामललाई प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पर्ने गर्छ । त्यसैले सरकारले अनुदान दिनुबाहेक अन्य विकल्प नरहेको अध्यक्ष लामाले बताए ।

हिल्सा, लिमीलगायत नाम्खा गाउँपालिकामा यसपटक दुईपटक हिमपात भइसकेको छ । चिसोको कारण स्थानीयबासीलाई घरबाट बाहिर निस्किनै समस्या भइरहेको यारिगाउँका छेपाल लामाले बताए । गाईबस्तु गोठभित्रै थुनिएका छन्, हामी पनि बाहिर निस्किन सक्दैनौं,’ उनले टेलिफोन सम्पर्कमा भने, ‘चामल पिठो आएपछि भने खानाको चिन्ता भएन, चिसोको चिन्ता त उस्तै छ ।’

हिल्सामा सशस्त्रको पहरा

बर्सेनि हिउँदमा सुनसान हुने हिल्सा नाकामा यसपटक सामान्य चहलपहल छ । सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) रहेको कारण त्यहाँ केही चहलपहल देखिएको छ ।

सशस्त्रले करिब ५ महिनाअघि इन्स्पेक्टरको नेतृत्वमा ३५ जनाको टोली खटाएको छ । अहिले हिल्साको तापक्रम माइनस ७ डिग्रीसम्म झरेको छ । तैपनि बीओपी इन्चार्ज सुरज केसीको कमान्डमा सशस्त्रले सीमा सुरक्षा गरिरहेको छ । चीनका सुरक्षाकर्मी पक्की भवनमा बसे पनि नेपालतर्फ पूर्वाधारसहित सञ्चार सेवा, रासन, बाक्लो लुगालगायतका समस्या भने रहेको केसीले बताए । ‘विभिन्न अभावबीच पनि हामीले आफ्नो गतिविधि निरन्तर जारी राखेका छौं,’ उनले भने, ‘नारा, लिमीकिट र हिल्सा क्षेत्रलाई प्राथमिकता दिएर हिउँ छिचोल्दै नियमित गस्ती गरिरहेका छौं ।’

सशस्त्र प्रहरी बलका हुम्ला जिल्ला प्रमुख डीएसपी मोहन विष्टका अनुसार हिल्सामा रहेको सशस्त्रको टोलीसँग कहिलेकाहीँ चिनियाँ मोबाइल सिमबाट मात्र सम्पर्क हुन्छ । केही दिनअघि ६–७ महिनालाई पुग्ने खाद्यान्नसहित बन्दोबस्तीका सामान पुर्‍याइएकोले अन्य समस्या भने नरहेको उनले बताए । ईकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x