३२ असार २०८३, बिहीबार

भारत सरकारको सहयोगमा बनेको कोशी कोरिडोर उद्घाटन आज, ऊर्जा मन्त्री खट्टर सहभागी

एसीपी संवाददाता

९ बैशाख २०८२, मंगलवार १६:२३ मा प्रकाशित

काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुईदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्ने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टरको यो भ्रमण नेपाल–भारतबीचको ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यका साथ तय भएको हो ।

भ्रमणको प्रमुख कार्यक्रमका रूपमा खट्टरले मङ्गलबार दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न कोशी कोरिडोर अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २२० केभी प्रशारण लाइन र यससँग सम्बन्धित तीनवटा सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गर्नेछन् । उद्घाटन कार्यक्रम संखुवासभाको तुम्लिङटारमा हुनेछ ।

यसै दिन, भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन पनि मन्त्री खट्टरको भ्रमण तालिकामा समावेश गरिएको छ । साथै, नेपाल र भारतले संयुक्त रूपमा निर्माण गर्न लागेको अर्को प्रशारण लाइनसम्बन्धी कम्पनीको औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

मन्त्री खट्टर र नेपाली समकक्षी दीपक खड्काको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबीच दुई अन्तरदेशीय प्रशारण लाइन परियोजनामा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिनेछ ।

भोलि बुधबार मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमण गर्ने र सोही दिन प्रधानमन्त्री केपी शर्मा ओली तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । भ्रमणको अन्त्यमा उनले साँझ पशुपतिनाथको दर्शन गरी स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x