मुलुक दलदलमा फस्ने खतरा-कोईराला
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाले मुलुक दलदलमा फस्ने खतरा बढेको बताएका छन् ।
विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरुसँगको कुराकानीमा उनले अहिलेको सरकार संविधानलाई मिच्दै अघि बढिरहेको र त्यसमा राष्ट्रपति सहयोगीको भूमिका निर्वाह गर्नु मुलुकका लागि दुरभाग्य भएको बताएका हुन् ।
‘राष्ट्रपति ज्यू अहिले सत्तारुढ दलभित्रका एउटा गुटको मात्रै राष्ट्रपतिको रुपमा देखिनु भएको छ,’ उनले भने, ‘अधिनायकवादतर्फ अघि बढिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीभित्र अल्पमतमा परेर कारबाही हुने परिस्थिति निर्माण भएको र यदी कारबाही भएको अवस्थामा राष्ट्रपति ज्यूले यसरी नै सघाइ रहनु भयो भने मुलुकमा दुर्घटना निम्तिन्छ ।’ त्यसैले राष्ट्रपतिले सम्मानित संस्थाको गरिमालाई ख्याल गरेर मुलुकको राष्ट्रपतिको भूमिका निर्वाह गर्नु अपरिहार्य रहेको कोइरालाको भनाइ थियो ।
अहिलेको अप्ठ्यारो परिस्थितिलाई चिर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद अधिवेशन बोलाउन दबाब सिर्जना गर्नुपर्ने उनले बताए । ‘सरकार र राष्ट्रपति दुवैलाई गलत गर्नबाट रोक्नका लागि कांग्रेसले संसदमा खबरदारी गर्नुपर्छ,’ कोइरालाले भने, ‘सम्मानित संस्था राष्ट्रपति भए पनि वहाँले गरेका गलत कामहरुको प्रमुख प्रतिपक्षी दलले जाँच गर्नुपर्छ ।’ सरकारलाई खबरदारी गर्दै, संविधान सुरक्षित राखेर मुलुकलाई अघि बढाउनुपर्ने अवस्थामा कांग्रेस पार्टी नेतृत्व वेवास्ता गरेर बस्नु मुलुकको हित विपरित भएको उनले बताए ।
दुई तीहाइको सरकारले जनभावना अनुसार काम गर्न नसकेको परिणाम राजावादी चलमलाउन थालेको उनको आरोप छ । ‘सरकारले मुलुकमा सुशासन, जवाफदेहिता, पारदर्शीता, उत्तरदायित्व र भ्रष्टाचार न्यूनीकरण गर्न असफल छ,’ उनले भने, ‘दण्डहिनता चरम चुलीमा पुगेको र मान्छे मारिएको घट्नामा पनि दोषीलाई पक्राउ गर्ने विषयमा सत्तारुढ दल विभाजित भएर संरक्षणमा लाग्ने गरेको अवस्था छ ।’ अहिलेको सरकार सत्तारुढ दलकै अन्तरविरोधले असफल भइसकेको कोइरालाको भनाइ थियो ।
कोइरालाले सरकार र राजनीतिक दलहरुले ठिक ढंगले काम गर्न नसके मात्रै मुलुकमा राजा फर्किन सक्ने बताए । ‘सरकार र राजनीतिक दलहरुले जनभावना अनुसार काम गरे राजा फर्किदैन,’ उनले भने, ‘संविधानमा लेखिएका कुराहरुको अक्षरश: पालना गरेर अघि बढ्नु पर्ने बेलामा जनमत संग्रहमार्फत हिन्दु राष्ट्र ल्याउने कुरा गर्नु गलत हो ।’ संविधानमा धर्मको बारेमा उल्लेख भएका विषयमा कानुन बनाएर कार्यान्वयन गरेर अघि बढ्नुपर्ने कोइरालाले बताए ।
उनले कांग्रेसको महाधिवेशन फाल्गुनमा सम्भव नभएकाले जेठसम्ममा गर्नुको विकल्प नभएको बताए । ‘जेठसम्ममा महाधिवेशन गर्नका लागि पार्टी नेतृत्वलाई दबाब दिनुको विकल्प छैन किनकी पार्टी नेतृत्वको महाधिवेशन गराउने इच्छा नै छैन,’ उनले भने, ‘भदौ अगावै महाधिवेशन नभए पार्टीको अस्तित्व नै समाप्त हुन्छ । निर्वाचन आयोगले दल दर्ता खारेज गरिदिन्छ ।’ ईकान्तिपुर बाट


