३२ असार २०८३, बिहीबार

सरकारले स्वास्थ्य बीमा प्रणाली एकिकृत गरी उपचारको दायरा विस्तार गरिनेमन्त्री पौडेल

एसीपी संवाददाता

२१ बैशाख २०८२, आईतवार १५:४४ मा प्रकाशित

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले स्वास्थ्य बीमा प्रणाली एकिकृत गरी उपचारको दायरा विस्तार गरिने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा गम्भीर रोगको उपचारसमेत बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गर्ने गरी उल्लेख गरिएको बताए । उनले बीमा प्रणालीलाई व्ययभार न्यून गर्न सरकारद्धारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधिहरु बीमा प्रणालीमा जोडिने पनि बताए ।

उनले बीमालाई सर्वसुलभ गराउन बिमितहरुले बीमा गरेको महिना दिनबाटै सेवा पाउने बताए । यसअघि बीमा गरेको तीन महिनापछि मात्रै बिमितले सेवा लिन पाउने प्रावधान रहेको थियो । उनले स्वास्थ्य जनशक्तिको व्यवस्थापन र गुणस्तरीय सेवा, सातै प्रदेशमा सघन जलन उपचार सेवा, मुटु रोग विस्तार लगायतलाई सरकारले प्राथमिकता दिएको पनि उल्लेख गरे ।

सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुको अर्थ सरकारी अस्पतालप्रतिको बढ्दो भरोसाका रुपमा अथ्र्याए । उनले भने–“पत्रकार साथीहरुले सरकारी लाइनमा बिरामीहरु घण्टौं लाइनमा बस्नु परेको परिस्थिति सुनाउनुभयो । यो सबै सरकारी अस्पतालमा छ । सरकारी अस्पतालप्रतिको बढ्दो भरोसाले पनि लाइन बढेको हो ।” उनले सरकारी अस्पतालमा चिकित्सक र नर्सिङ जनशक्तिको अभाव रहेको भन्दै त्यसलाई लोक सेवा आयोगमार्फत समाधान गर्ने गरी सरकार अघि बढेको बताए ।

अस्पतालमा आवश्यकताका आधारमा जनशक्ती परिचालन गर्न संघीय सरकार मातहतका सबै अस्पतालमा ओएनएम गरिने उनको भनाइ छ । नेपाल प्रेस युनियन बाँके शाखाका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका सभापति नारायण प्रसाद गौडेल, लुम्विनी प्रदेश सभा सदस्य बादशाह कुर्मी, नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका महासचिव समेत रहेका पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह, अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण सचिव भिष्म लोधले गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x