३२ असार २०८३, बिहीबार

भारतले चिनाबको पानी रोकेपछि पाकिस्तानमा जलसंकट: २४ सहरका ३ करोड मानिस प्रभावित

एसीपी संवाददाता

२३ बैशाख २०८२, मंगलवार १६:१३ मा प्रकाशित

भारतले जम्मु–कश्मीरस्थित चिनाब नदीमाथि बनेका सियाल र बगलिहार बाँधका ढोका बन्द गरेपछि पाकिस्तानतर्फ बग्ने पानी रोकिएको छ।

यसले पाकिस्तानको जल आपूर्तिमा गम्भीर असर पारेको छ। यहाँका २४ सहरका करिब ३ करोड मानिस प्रत्यक्ष प्रभावित हुने देखिएको छ।

पछिल्लो तथ्यांकअनुसार पाकिस्तानमा चिनाब नदीको जलस्तर २२ फिटबाट घटेर १५ फिटमा झरेको छ। २४ घण्टामै ७ फिट पानी घटेपछि पाकिस्तानको पन्जाब प्रान्तका फैसलाबाद, हाफिजाबादलगायतका सहरमा पिउन योग्य पानीको अभाव गहिरिंदै गएको छ।

ती सहरका करिब ८० प्रतिशत जनसंख्या चिनाब नदीको सतही पानीमा निर्भर रहेको पाकिस्तानी जल प्राधिकरणले जनाएको छ।

पाकिस्तानको सिंधु जल प्राधिकरणले भारतको कदमले खरीफ बालीमा २१ प्रतिशत पानीको कमी आउने चेतावनी दिएको छ। पाकिस्तानी संसदले भारतको निर्णयलाई ‘युद्धको घोषणा सरह’ भनेको छ।

भारतले हालैको पहलगाम आतंकी हमलापछि १९६० मा भारत–पाकिस्तानबीच भएको सिंधु जल सन्धि कार्यान्वयन नगर्ने निर्णय लिएको थियो।

उक्त सन्धिअनुसार भारतलाई तीन पूर्वी नदीहरू (रावी, ब्यास, सतलुज) प्रयोग गर्ने अधिकार थियो भने पाकिस्तानले तीन पश्चिमी नदीहरू (सिंधु, झेलम, चिनाब) प्रयोग गर्न पाउने व्यवस्था थियो। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x