बाँके प्रहरीको सक्रियताले लागु औषध कारोबारी धमाधम पक्राउ
नेपालगन्ज । नेपालगन्जबाट १ क्विन्टल बढी गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ठूलो परिमाणमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएर जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाबाट खटिएको टोलीले नेपालगन्ज-२२ स्थित कान्तितालबाट गएराति २ किलो ३५० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो ।
लागुऔषधको टोलीले नेपालगन्ज-१४ का १७ वर्षीय विनय सोनी, वडा नम्बर २२ का १६ वर्षीय आदर्श साहान र नेपालगन्ज-६ का २१ वर्षीय दिपेश चौरासियालाई कान्तितालबाट २ किलो ३५० ग्राम गाँजासहित पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुसँग सोधपुछ गर्ने क्रममा उक्त गाँजा बिक्री गर्ने अर्कै व्यक्ति रहेको खुल्न आएको हो ।
प्रहरीले उनीहरुहरुले दिएको हुलिया अनुसार डुडुवा गाउँपालिका-४ का ५० वर्षीय भागिराम खटिकलाई तत्काल नियन्त्रणमा लिएको बाँके प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका खटिकको घर खानतलासी गर्ने क्रममा प्रहरीले थप १ सय ११ किलो ४०६ ग्राम गाँजा बरामद गरेको हो ।
प्रहरीले उक्त परिमाणको गाँजासहित पक्राउ परेका चारै जनालाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
त्यसैगरी प्रहरीले नेपालगन्ज नाका नजिकबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-११ का ३४ वर्षीय चन्द्र बहादुर गन्धर्व र सोही स्थानका २७ वर्षीय सौरभ टमाटा रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले चन्द्रबहादुर र सौरभलाई नेपालगन्ज-१५ जमुनाहाबाट रुपैडिहादेखि नेपालगन्ज आउँदै गरेको अवस्थामा १ ग्राम ३३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सोमबार पक्राउ परेका उनीहरुसँग प्रहरीले थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
त्यसैगरी नेपालगन्ज-१५ जमुनाहाबाट जुम्लाको चन्दननाथ नगरपालिका-१० का २१ वर्षीय आशिष न्यौपानेलाई प्रतिवन्धित औषधिसहित प्रहरीले पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले न्यौपानेलाई ट्रामाडोल ५० ट्याबलेट र नाइट्रोभ्याट ७० ट्याबलेट गरी जम्मा १२० ट्याबलेट प्रतिवन्धित औषधिसहित पक्राउ गरेको हो । न्यौपानेलाई सोमबार दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।



