३२ असार २०८३, बिहीबार

उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेटवार्ता

एसीपी संवाददाता

९ असार २०८२, सोमबार २१:३५ मा प्रकाशित

काठमाडौं- सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डीन आर थम्प्सनले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा शुभकामना आदानप्रदानसँगै भएको वार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध आयाम, द्विपक्षीय सहयोग, कूटनीतिक साझेदारी र आगामी सम्भावनाहरूबारे छलफल भएको थियो । उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै मुलुकबीच सुमधुर तथा परस्पर सम्मानमा आधारित सम्बन्ध रहँदै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता हाम्रो साझा मूल्यमान्यता हुन्, जसले हाम्रो सम्बन्धलाई थप बलियो बनाएको छ ।’ उपराष्ट्रपति यादवले सन् १९५१ देखि अमेरिकी सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता प्रति धन्यवाद व्यक्त गर्दै आर्थिक–सामाजिक विकास र लोकतान्त्रिक सुदृढीकरणमा अमेरिकाको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले नेपाल सरकारद्वारा सानफ्रान्सिस्को र ड्यालासमा स्थापना गरिएका महावाणिज्य दूतावासहरूबाट नेपाली डायस्पोरालाई कन्सुलर सेवा प्रवाह हुने विश्वास व्यक्त गर्दै व्यापार, प्रविधि तथा लगानीका क्षेत्रमा आपसी सहकार्य अझ सुदृढ गर्नेतर्फ पनि नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। नेपाल सन् २०२६ सम्ममा अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा उपराष्ट्रपति यादवले यस उपलब्धिका लागि अमेरिका जस्ता विकास साझेदारहरूको सक्रिय र दीर्घकालीन सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत सञ्चालित पूर्वाधार परियोजनाहरू र यूएसएआईडी मार्फत भइरहेका कार्यक्रमहरू पुनःसञ्चालन हुनेमा हामी आशावादी रहेको उल्लेख गर्नुभयो । ‘सगरमाथा संवादजस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत जलवायु परिवर्तनजस्ता संवेदनशील मुद्दामा विश्वसमुदायसंग सहकार्य गरेर अघि बढ्नुपर्ने नेपाल सरकारको धारणा प्रस्तुत गर्दै उपराष्ट्रपति यादवले नेपाल–अमेरिका साझेदारी मानव कल्याणमा केन्द्रित विषयहरूमा समेत सशक्त सहयोगको उदाहरण बनेको बताउनुभयो ।

संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डीन आर थम्प्सनले एमसिसी, युएसएआईडी लगायत अन्य विकास परियोजनाहरु सकारात्मक रुपमा निरन्तरताको मार्गमा अघि बढेको बताउनुभयो । उहाँले अमेरिकामा नेपाली समुदाय अन्त्यन्तै सक्रिय र जीवन्त भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै नेपाल र अमेरिका परस्पर सहकार्य गर्दै महत्वपूर्ण कामहरु गर्न सक्ने बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x