प्रधानमन्त्री ओलि स्वदेश फर्किदै
काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाएर स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत प्रधानमन्त्री ओली आज अपराह्न ३:४५ बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनको राजधानी म्याड्रिडमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग विशेष भेटवार्ता गरेका थिए। त्यसक्रममा उनी स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजसँग पनि दुईपक्षीय छलफलमा सहभागी भए। यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग पनि छुट्टाछुट्टै भेटघाट सम्पन्न भएको थियो।
प्रधानमन्त्री ओलीले सम्मेलनलाई औपचारिक रूपमा सम्बोधन गर्दै अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता समेत गरे। सम्मेलनको विविध छलफल सत्रमा उनले नेपालको पक्षमा आवाज उठाउँदै दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको सन्देश दिएका थिए।
भ्रमणको अन्त्यतिर ओलीले म्याड्रिडस्थित रियल म्याड्रिड क्लबको ऐतिहासिक सान्टियागो बर्नाबाउ रंगशाला पनि अवलोकन गरेका थिए। प्रधानमन्त्रीको यो भ्रमणलाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र विकास साझेदारी सुदृढ गर्ने उद्देश्यका रूपमा लिइएको छ।


