१५ भाद्र २०८३, सोमबार

भारतीय पर्यटकलाई सीमामा सहजीकरणका लागि पर्यटनमन्त्री कुशवाहाले लिए अग्रसरता, ८ वटै जिल्लामा पुग्यो पत्र

एसीपी संवाददाता

३१ असार २०८२, मंगलवार ०८:४६ मा प्रकाशित

मधेश प्रदेश सरकारले भारतबाट आउने पर्यटकहरूका लागि सीमा नाकामा सहजीकरण गर्न ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी लाई लिखित अनुरोध गरेको छ। उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले आइतबार पत्र पठाउँदै सर्लाही, सिराहा, सप्तरी, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्साका सीडीओहरूलाई भारतीय पर्यटकलाई सहज वातावरणमा नेपाल प्रवेश गराउन आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका हुन्।


पत्रमा उल्लेख छ, ‘सीमामा सुरक्षा चेक जाँच लगायतका नाममा अनावश्यक समस्या देखिने र उचित व्यवस्थाको अभाव हुँदा पर्यटकहरू गुनासो गर्दै आएका छन्। त्यसैले भारतबाट आउने पर्यटकहरूलाई आवश्यक सहजीकरण गर्न अनुरोध गरिएको छ।’
यसअघि मन्त्रालयले सीमावर्ती नाकामा मौखिक अनुरोध गर्दै आए पनि समस्या समाधान नभएकाले लिखित रूपमा निर्देशन दिइएको मन्त्री कुशवाहाले बताएका छन्। ‘उच्च निकायहरूलाई समेत जानकारी गराइएको छ, र यो प्रक्रिया निगरानीमै राखिनेछ,’ मन्त्री कुशवाहाले भने।
मधेश प्रदेशको सीमावर्ती नाका भारतसँगको आवागमनका लागि प्रमुख प्रवेशद्वार हुन्, जहाँ दैनिक सयौं पर्यटक र व्यापारी आवतजावत गर्छन्। पछिल्लो समय सीमानाकामा पर्यटकले भोगेको जाँच प्रक्रिया, शुल्क, र अन्य अवरोधका कारण गुनासो बढेको पृष्ठभूमिमा यो पहल भएको हो।
मन्त्री कुशवाहाले सीमा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन प्रदेश सरकार गम्भीर रहेको र आवश्यक परे थप कदम चालिने बताएका छन्। यो निर्णयले मधेश प्रदेशको पर्यटन प्रवद्र्धन र भारतसँगको जनस्तरीय सम्बन्धमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x