९ मंसिर २०८३, मंगलवार

राष्ट्रियताको भावनालाई जगाउँदै राजनीतिक चर्चामा मेयर हर्क साम्पाङ्ग

एसीपी संवाददाता

१२ श्रावण २०८२, आईतवार २२:५० मा प्रकाशित

काठमाडौं— राष्ट्रियताको भावनालाई जगाउँदै राजनीतिक चर्चामा आएका धरानका मेयर हर्क साम्पाङ्गले हालै फेसबुकमा सार्वजनिक गरेको ‘ग्रेटर नेपाल’को नक्साले विवादलाई जन्म दिएको छ। ‘हर्क साम्पाङ्ग अ रिभोल्युसन’ नामक फेसबुक पेजमार्फत पोस्ट गरिएको नक्सामा पश्चिमा सीमामा काँगडादेखि पूर्वमा टिष्टासम्मका भूभाग समेटिएका छन्। तर राष्ट्रिय स्वाभिमानका लागि भावनात्मक रूपमा जोडिएको उत्तरी क्षेत्र, जुन लामो समयदेखि चीनको कब्जामा छ, त्यो भने आश्चर्यजनक रूपमा नक्साबाट गायब छ।

वास्तवमा, ऐतिहासिक प्रमाणहरूका अनुसार वास्तविक ‘ग्रेटर नेपाल’ कैलाश मानसरोवरदेखि पूर्वमा सिगत्छेसम्म फैलिएको थियो। उत्तरतर्फको भूमिमा ब्रह्मपुत्र नदीसम्मका इलाकाहरू नेपालकै भाग रहेको तथ्य प्रमाणित इतिहासकारहरूले पुष्टि गरेका छन्। तर साम्पाङ्गद्वारा सार्वजनिक नक्सामा ती महत्वपूर्ण र संवेदनशील उत्तरी भाग समेटिएका छैनन्। यसबाट चीनको विस्तारवादी दबाब र प्रभावमा उनी नझुकेका हुन् भन्ने प्रश्न सामाजिक सञ्जालमा उठिरहेको छ।

Kathmandu World School

पोस्ट भएको केही दिनमै १९ हजारभन्दा बढी लाइक, एक हजारभन्दा बढी कमेन्ट र सयौं सेयरले देखाउँछ कि जनस्तरमा यस विषयप्रतिको संवेदना उच्च छ। धेरै नागरिकहरूले चीनका कब्जामा रहेका भूमिलाई नसमेटेर साम्पाङ्गले नेपालकै राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको आरोपसमेत लगाएका छन्। एक फेसबुक प्रयोगकर्ताले भनेका छन्, “भारतसँग सीमा विवाद देखाउँदै चीनको कब्जाबारे मौन रहनु गम्भीर राष्ट्रघात हो।” अर्का एक प्रयोगकर्ताले त झन् साम्पाङ्गलाई खुला प्रश्न गर्दै भनेका छन्, “उत्तरी सीमा नबोल्नुको मूल्य कति पर्न गयो, मेयर साब?”

‘हर्क साम्पाङ्ग अ रिभोल्युसन’ नामक फेसबुक पेजको परिचयमा बेलायतको म्यानचेस्टरस्थित टाउन हलको ठेगाना उल्लेख गरिएको छ। यो विवरणले झन् थप शंका उत्पन्न गराएको छ। सामाजिक सञ्जालको विश्लेषण गर्दा यस्तो देखिन्छ कि पेज विदेशबाट सञ्चालन भएको देखाउने कोशिश गरिएको छ, तर वास्तविक सञ्चालक साम्पाङ्ग नै हुन् भन्ने धेरैले आशंका गरेका छन्। कतै विवादित विषय उठाउन र ‘रेडिकल’ सामग्री पोस्ट गर्नकै लागि यो रणनीति अपनाइएको त होइन भन्ने प्रश्न पनि उठिरहेको छ।

तर हर्क साम्पाङ्गको समर्थक समूहले भने यो आरोपलाई निराधार भन्दै नक्साले नेपाली राष्ट्रियतालाई जगाउन मात्र खोजेको दाबी गरिरहेका छन्। उनीहरूका अनुसार राष्ट्रिय चेतनाका लागि यस्ता पोस्ट आवश्यक छन्। तथापि, उत्तरतर्फको भूमिलाई नजरअन्दाज गरिनुले साम्पाङ्गको असली मन्शामाथि प्रश्नचिन्ह खडा गरेको छ।

राष्ट्रिय संवेदनाको गम्भीर मुद्दा उठाउँदा एकपक्षीय रूपमा एक सीमातर्फको भूभाग समेट्ने र अर्कोतर्फ मौनता अपनाउने कार्यले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ कि कमजोर पार्छ? यो प्रश्न अब नागरिक, बुद्धिजीवी र राजनीतिक वृत्तबीच गहिरो बहस र चिन्ताको विषय बन्न थालेको छ। साम्पाङ्गको यो कदम साँच्चै नै नेपाली भूमिप्रतिको चिन्ता हो वा कुनै शक्तिको दबाब? यसको जवाफ आउने दिनमा नेपाली जनताले खोज्ने नै छन्।

यो उनको फेसबुक पेजको लिङ्क हो: https://www.facebook.com/HarkaSampangRevolution

बिबेकशील नेपालीको नक्शामा “ग्रेटर नेपाल” कैलाश–मानसरोवरदेखि ब्रह्मपुत्र नदीसम्म फैलिएको स्पष्ट रूपमा देखाइएको छ, भने फणिन्द्र नेपालको नक्शामा त्यो ऐतिहासिक विस्तारसमेत समावेश गरिएको छैन। यदि ‘हर्क साम्पाङ्ग अ रिभोल्युसन’ फेसबुक पेज साँच्चै नक्कली हो भने, उसलाई बन्द गराउन उनले किन कुनै पहल गरिरहेका छैनन्? / नेपालआज बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x