९ मंसिर २०८३, मंगलवार

भारत–नेपाल सीमा क्षेत्रमा बढ्दै गइरहेका जबरजस्ती धर्म परिवर्तनका घटनाप्रति चिन्ता व्यक्त

एसीपी संवाददाता

१७ श्रावण २०८२, शुक्रबार १६:५४ मा प्रकाशित

नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले भारत–नेपाल सीमा क्षेत्रमा बढ्दै गइरहेका जबरजस्ती धर्म परिवर्तनका घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपाल सरकारलाई कडा कदम चाल्न आग्रह गरेका छन्।

शुक्रवार तौलिहवा पत्रकार सम्मेलन गर्दै शाहले पछिल्ला दिनमा भारतीय सीमावर्ती जिल्ला बलरामपुरमा हिन्दू धर्मका महिलाहरूलाई विभिन्न प्रलोभन देखाई धर्म परिवर्तन गराइएको विषयमा भारतीय सञ्चारमाध्यममा दिएका अभिव्यक्तिलाई व्यक्तिगत विचार बताएका छन्। उनले भनेका छन्, “धार्मिक आस्थामा हस्तक्षेप संविधानले निषेध गरेको छ। जबरजस्ती धर्म परिवर्तन गराउने गिरोहलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही हुनुपर्छ। ” उनले यस्ता आपराधिक प्रवृत्तिका गतिविधिहरू नेपालभित्र पनि हुन सक्ने सम्भावना रहेको भन्दै सरकार र नागरिक दुवै सचेत हुनुपर्नेमा जोड दिएका छन्। धार्मिक आस्थाको नाममा गरिब, पिछडिएका वर्गका महिलालाई विदेश पठाइदिने, रोजगारी दिने जस्ता लोभ देखाएर धर्म परिवर्तन गराउने कार्य निन्दनीय भएको उल्लेख गर्दै उनले भने, “म सदैव पीडित पक्षको पक्षमा वकालत गरिरहनेछु, र न्याय दिलाउने प्रक्रियामा साथ रहनेछु।” उनले नेपालमा पनि यस्ता घटना सामाजिक संरचना र लाज–शर्मका कारण सार्वजनिक नहुने गरेको भन्दै धर्म परिवर्तनका गिरोहहरू मौलाउँदै गएको चेतावनी दिएका छन्। यस्ता तत्वहरूले आफूले अँगालेको धर्म नै बदनाम गरिरहेको उनले बताए। अभिषेक शाहले भारत र नेपाल सरकारबीच संयुक्त छानबिन समिति गठन गरि धर्म परिवर्तनजस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने माग समेत गरेका छन्। “यदि यस्ता विकृति समयमै नियन्त्रण गरिएनन् भने सामाजिक द्वन्द्व बढ्न सक्छ,” उनले स्पष्ट पारे। नेपालको संविधान २०७२ को धारा २६ अनुसार धर्म परिवर्तन गर्न र गराउन नपाइने प्रावधान रहेकाले सो अनुसारको कार्यान्वयन जरुरी रहेको शाहले उल्लेख गरेका छन्। धार्मिक सहिष्णुता कायम राख्न, सामाजिक सौहार्दमा खलल नपरोस् भन्ने उद्देश्यका साथ नेपाल सरकारलाई तुरुन्तै आवश्यक कदम चाल्न आग्रह गर्दै उनले सीमावर्ती क्षेत्रसहित पहाडी जिल्लामा पनि धर्म परिवर्तनको निगरानी गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x