मस्कोमा डोभाल–पुटिन भेट : भारत–रूस सम्बन्ध नयाँ आर्थिक रोडम्यापतर्फ
मस्को । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा बिहीबार भेटवार्ता गर्दै दुई देशबीचको ‘विशेष र पुरानो’ रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
रूसी राष्ट्रपति पुटिन यसै वर्षको अन्तिमतिर भारत भ्रमण गर्ने तयारीमा छन्, जसको मिति लगभग तय भइसकेको डोभालले जानकारी दिएका छन्। फेब्रुअरी २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको यो पुटिनको पहिलो भारत यात्रा हुनेछ, जसले २०३० सम्मको नयाँ आर्थिक रोडम्याप अघि बढाउने अपेक्षा गरिएको छ।
डोभाल र पुटिनबीचको वार्तामा सुरक्षा, आर्थिक र ऊर्जा सहयोगलाई प्राथमिकता दिइएको थियो। स्पुतनिकले सार्वजनिक गरेको भिडियोमा डोभालले दुई देशबीचको सम्बन्धलाई ‘धेरै विशेष’ भन्दै, उच्च स्तरको आपसी विश्वास र रणनीतिक अन्तरक्रियामा जोड दिएका छन्।
पुटिन सन् २०२१ डिसेम्बरमा चार घण्टामात्रको भारत भ्रमणमा आएका थिए, जसमा २८ वटा सम्झौता भएको थियो। त्यसपछि दुवै देशले २०२५ सम्म वार्षिक ३० अर्ब डलरको व्यापार गर्ने लक्ष्य राखेका थिए। हाल करिब ६० अर्ब डलरको व्यापार भइरहेको छ भने, नयाँ सहमति अनुसार यसलाई दोब्बर बढाएर १०० अर्ब डलरभन्दा माथि पुर्याउने योजना छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–रूस सम्बन्ध र रूसी तेल खरिदप्रति टिप्पणी गर्दै भारतमाथि आयात शुल्क बढाएको पृष्ठभूमिमा यो भ्रमणलाई रणनीतिक दृष्टिले अझ महत्वपूर्ण मानिएको छ।


