एक महिनापछि भारतको बोधगयामा द्वीपक्षीय भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक महिनापछि भारतको बोधगयामा द्वीपक्षीय भेटवार्ता हुने भएको छ ।
भारतका प्रधानमन्त्रीले विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्परा रहँदै आएकामा यस पटक नेपालका प्रधानमन्त्रीका लागि गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल रोजिएको हो । बिहारमा रहेको बोधगया बौद्ध धर्मका अनुयायीका लागि पवित्र तीर्थस्थलका रूपमा प्रसिद्ध छ । प्रधानमन्त्री ओली दुईदिने भ्रमणका लागि ३१ भदौमा भारत जाने तयारीमा हुनुहुन्छ । प्रधानमन्त्री बनेको १४ महिनापछि उहाँले भारतको औपचारिक भ्रमण गर्न लाग्नु भएको हो ।
त्यस क्रममा दुई मुलुकका कार्यकारी प्रमुखबीच बोधगयामा भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले पुष्टि गरे । ओली दिल्ली भएर बोधगया जाने वा काठमाडौंबाट सिधै त्यहाँ पुग्ने भन्नेबारे स्पष्ट भइसकेको छैन । ओलीको भ्रमण कार्यतालिका तथा बोधगयाको रुट भारतीय विदेश सचिव विक्रम मिस्रीको भ्रमणबाट तय हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । भ्रमण तयारीका लागि विदेश सचिव मिस्री आइतबार काठमाडौं आउँदै हुनुहुन्छ । उहाँले भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नुहुनेछ ।
भारतीय सैन्य विमानबाट आइतबार अपराह्न काठमाडौं ओर्लिएर मिस्रीले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु देउवा, परराष्ट्र सचिव अमृत राईसहितका उच्चपदस्थ अधिकारीसँग भेट्ने कार्यक्रम छ । भेटघाट सकेर सोमबार उहाँ फर्किनु हुनेछ । कान्तिपुर


