१२ भाद्र २०८३, शुक्रबार

एकता शक्तिमा रूपान्तरण : मधेशी दलहरूको मोर्चाबन्दीले जागायो नयाँ आशा

एसीपी संवाददाता

१५ भाद्र २०८२, आईतवार १६:४४ मा प्रकाशित

काठमाडौं । लामो समयदेखि छिन्नभिन्न अवस्थामा रहेका मधेशकेन्द्रित राजनीतिक दलहरू ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरी एक ठाउँमा उभिएका छन्। राजनीतिक रूपमा कमजोर बनेका यी दलहरूले विगतका गल्तीहरू नदोहोऱ्याउने प्रतिबद्धतासहित गरेको यो मोर्चाबन्दीलाई मधेशको राजनीतिमा नयाँ ऊर्जाको रूपमा हेरिएको छ। यदि यो मोर्चामा सीके राउत नेतृत्वको जनमत पार्टी र अनिल झा नेतृत्वको सद्भावना पार्टी पनि सामेल भएमा यसको शक्ति थप बलियो र प्रभावकारी हुने सम्भावना देखिएको छ।

विश्लेषकहरूका अनुसार, आगामी निर्वाचनमा मधेशी मोर्चा एकताबद्ध भएर चुनावमा होमिएमा यो देशको पहिलो शक्ति भएर उदाउन सक्ने सम्भावना रहेको छ। नेपालको तराईका २२ जिल्ला र मध्य नेपालका विभिन्न जिल्लाहरूमा बसोबास गर्ने आदिवासी जनजाति, थारु र मुस्लिम समुदायको ठूलो मत यस मोर्चाले प्राप्त गर्ने सम्भावना प्रबल छ।

जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र जनता प्रगतिशील पार्टीले संयुक्त रूपमा मोर्चा घोषणा गरेका थिए। यस मोर्चाले २६ बुँदे प्रतिबद्धतासहित संघीयताको रक्षा, समानुपातिक प्रतिनिधित्व, सुशासन, र मधेशका जनताको उत्थानलाई मुख्य एजेन्डा बनाएको छ।

पछिल्लो समय सत्ता स्वार्थका कारण टुक्रिएका यी दलहरूले संसदमा कमजोर उपस्थिति भएपछि एकताबद्ध हुनुको विकल्प नरहेको महसुस गरेका छन्। मोर्चाको घोषणा सभामा जसपा अध्यक्ष उपेन्द्र यादवले ठूला दलहरूले बहुदलीय प्रतिस्पर्धालाई निषेध गर्न खोजेको भन्दै त्यसको प्रतिवाद गर्न मोर्चाको आवश्यकता रहेको बताए। मोर्चा गठनका पहलकर्ता हृदयेश त्रिपाठीले पनि अब विभाजनको गल्ती गर्ने छुट नभएकोमा जोड दिएका छन्।

नयाँ मोर्चाले संविधान संशोधन, पहिचानको आधारमा प्रदेशको सीमांकन, र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नेजस्ता मुद्दाहरूलाई प्राथमिकता दिएको छ। यदि यो मोर्चा एकढिक्का रहेर अघि बढ्न सकेमा यसले राष्ट्रिय राजनीतिमा सन्तुलन कायम गर्न, मधेशको विकासलाई गति दिन र देशमा राजनीतिक स्थायित्व ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यस एकताले मधेशका जनतामा पनि एक पटक फेरि आशाको सञ्चार गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x