२१ जेष्ठ २०८३, बिहीबार

चौतर्फी दबाबले गलेनन् ओली, सातौँ महाधिवेशनमा फर्किँदै योगेशले सुनाए यस्तो कथा

एसीपी संवाददाता

२१ जेष्ठ २०८३, बिहीबार १६:०३ मा प्रकाशित

बुधबार काठमाडौंमा आयोजित सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले कसैले भनेकै भरमा नेतृत्व नछाड्ने अडान दोहोर्‍याए। ओलीले पार्टीलाई पुरानै शक्तिमा फर्काएर मात्रै आफूले विश्राम लिने बताएपछि उपमहासचिव योगेश भट्टराईले एउटा नेपाली लोककथामार्फत् व्यंग्य कसेका छन् ।

योगेशसमेत उपस्थित उक्त कार्यक्रममा बोल्दै ओलीले भनेका थिए, ‘कतिपय नेताहरू शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने मानसिकतामा छन्। शिर काटेर टेबलमा राखिदिने हो भने जीउले मात्र पार्टी एकता हुन्छ भन्ने सोच पार्टी हितमा छैन।’

अध्यक्ष ओलीले पार्टीमा व्यापक एकता आवश्यक रहेको बताउँदै त्यो एकता आफ्नै नेतृत्वमा सम्भव हुने दाबी गरे। उनले एमाले ३६ वर्षदेखि जनताको बहुदलीय जनवादमा एकताबद्ध रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई सोही सिद्धान्तमा चल्न आग्रह गरेका थिए। ओलीले यस्तो भनेपछि भट्टराईले एमालेको जनकपुरमा भएको सातौँ महाधिवेशनतिर फर्किँदै एउटा लोकथा सुनाएका हुन् ।

भट्टराईको व्यंग्य कथा

बुधबार भएको कार्यक्रममा सहभागी हुँदै मञ्च शेयर गरेका उपमहासचिव योगेश भट्टराईले ओलीको अभिव्यक्तिप्रति फेसबुकमार्फत् प्रतिक्रिया दिँदै एक लोककथा सुनाए।

भट्टराईले लेखे, ‘नेकपा एमालेको सातौं राष्ट्रिय महाधिवेशन (जनकपुर) को बन्द सत्रमा एक वरिष्ठ नेताले यो कथा सुनाउनुभएको थियो।’

कथा यस्तो छ :

‘एकजना बुढा मानिस बसमा चढेछन् । सीट खाली थिए, तर उनी सीटमा बसेनन । उभिएर बसभित्रको फलामको डन्डी च्याप्प समाए । बाटो उबडखावड थियो । बस गुड्न शुरु गर्यो । बस घरी दायाँ ढलकिन्थ्यो, बुढा मानिस बसको डन्डीलाई बायाँतिर जोडले तान्थे । फेरि बस बायाँ ढल्किन्थ्यो, बुढा मानिस डन्डीलाई जोडले दायाँ तान्थे । यही रीतले बस अघि बढिरह्यो । बुढा मानिसले सोही क्रिया गरिरहे । बुढा असिनपसिन भए । बस गन्तब्यमा पुगेर रोकियो । सबै यात्रु बाहिर निस्किए । बुढाले सबैलाई जम्मा गरेर भने, आज तपाईंहरू सबै मेरो कारणले बँच्नुभयो । यात्रुहरू छक्क परेर सोधे, कसरी । बुढाले स-गौरव भने, ‘पल्टिन लागेको बसलाई डन्डीमा तानेर मैले पल्टिनबाट जोगाएँ र तपाईंहरू बँच्नुभयो ।’

भट्टराईले ओलीको भनाइ सुनेपछि आफूलाई आजका दिनमा त्यही कथाको निकै सम्झना आएको भन्दै कटाक्ष गरेका छन् ।

ओलीको अडान

अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरणको बहस चलिरहेका बेला स्पष्ट भनेका छन्, ‘सजिलो परिस्थितिमा प्रधानमन्त्री खान कस्सिने र अप्ठ्यारो पर्दा झोला फ्याँकेर भाग्ने गरी म अध्यक्ष बनेको होइन।’

उनले थप भने, ‘म अप्ठ्यारो परिस्थितिसँग जुधेर, पार्टीलाई सफलतामा पुर्‍याएर मात्र विधिसम्मत रूपमा विश्राम लिनेछु। बीचमा झोला फ्याँकेर हिँड्ने होइन।’

पछिल्लो समय फागुन २१ गतेको चुनावी हार, स्वास्थ्य समस्या र अन्य कारणले निष्क्रिय ओली अब फेरि आक्रामक रूपमा सक्रिय हुन थालेका छन्। उनले आगामी दिनमा नेता–कार्यकर्तासँग भेटघाटलाई तीव्र बनाउने घोषणा पनि गरेका छन्। ओलीले बुधबार प्रधानमन्त्री वालेन्द्र शाहमाथि पनि कडा प्रहार गर्न भ्याए । उनले बालेनले भनेजस्तो नेपालले कसैको भूमि नमिचेको पनि प्रष्ट पारे ।

एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस चर्किरहेको र आन्तरिक शक्ति सन्तुलन परिवर्तन हुँदै गएको अवस्थामा ओलीको यो अडानले पार्टीभित्र नयाँ बहस सुरु गरेको छ। खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x