प्रधानमन्त्रीकी पत्नीका रूपमा नभई आफ्नै पहिचान बोकेकी एक स्वतन्त्र, सक्रिय र जिम्मेवार नागरिकका रूपमा
प्रधानमन्त्री वालेन्द्र शाहकी पत्नी सविना काफ्लेले आफूलाई केवल प्रधानमन्त्रीकी पत्नीका रूपमा नभई आफ्नै पहिचान बोकेकी एक स्वतन्त्र, सक्रिय र जिम्मेवार नागरिकका रूपमा स्थापित गर्न चाहेको बताएकी छन्। सार्वजनिक स्वास्थ्य क्षेत्रकी विज्ञ, लेखिका तथा सामाजिक अभियन्ताका रूपमा परिचित सविनाले आफ्नो जीवनयात्रा, परिवार, प्रेम, राजनीति र समाजप्रतिको दृष्टिकोणबारे खुलस्त धारणा व्यक्त गरेकी छन्।
मोरङको उर्लाबारीमा जन्मिएकी सविना बाल्यकालमै परिवारसँग काठमाडौं आएकी थिइन्। मध्यमवर्गीय परिवारमा हुर्किएकी उनले बाल्यकालदेखि नै सेवाभाव, सामाजिक उत्तरदायित्व र सरल जीवनशैलीलाई आत्मसात् गरेको बताएकी छन्। हजुरबा–हजुरआमाको माया, संस्कार र मानवीय मूल्यले आफ्नो व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
भीएस निकेतनमा अध्ययनका क्रममा सविना र वालेन्द्र शाहबीच चिनजान भएको थियो। मित्रताबाट सुरु भएको सम्बन्ध पछि प्रेममा परिणत भएको र दुवै परिवारको सहमतिमा विवाह सम्पन्न भएको उनले स्मरण गरिन्। सविनाका अनुसार बालेन शाहमा सानैदेखि समाजका लागि केही गर्ने दृढ सोच र सेवाभाव थियो, जसले उनलाई राजनीतितर्फ आकर्षित गराएको हो।
बालेन शाहले राजनीतिमा प्रवेश गर्दा सामाजिक सञ्जालदेखि सार्वजनिक वृत्तसम्म विभिन्न प्रतिक्रिया आए पनि आफूहरू आत्मविश्वासका साथ अगाडि बढेको सविनाले बताइन्। उनका अनुसार बालेनको मुख्य उद्देश्य पद वा पैसा होइन, समाजमा सकारात्मक परिवर्तन ल्याउने चाहना हो।
सविनाले बालेनलाई अत्यन्तै सरल, स्पष्टवक्ता, एकान्तप्रिय र सेवाभावी व्यक्तिका रूपमा चित्रण गरेकी छन्। बाहिर निर्माण गरिएका धेरै धारणा वास्तविकताभन्दा फरक रहेको बताउँदै उनले बालेन धेरै बोल्नेभन्दा धेरै सुन्ने स्वभावका व्यक्ति भएको उल्लेख गरिन्। परिवारभित्र भने उनी रमाइलो वातावरण बनाउने, छोरीसँग समय बिताउने र मनोरञ्जनमा सहभागी हुने व्यक्ति रहेको उनले सुनाइन्।
प्रधानमन्त्रीको भूमिकामा रहेका बालेन शाहबारे भइरहेका आलोचनामध्ये सञ्चार र संवाद कम गर्ने विषयमा सविनाले पनि आफ्नो धारणा राखेकी छन्। उनले प्रधानमन्त्रीले अलि बढी संवाद र सञ्चार गर्न सके अझ प्रभावकारी हुने बताउँदै सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र विकासका एजेन्डामा सफल हुनुपर्ने आवश्यकता औँल्याइन्।
महिलाको सशक्तीकरणबारे बोल्दै सविनाले आर्थिक आत्मनिर्भरतालाई सबैभन्दा महत्वपूर्ण आधार मानेकी छन्। शिक्षा मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले आर्थिक रूपमा सक्षम महिला नै निर्णय गर्न सक्ने, आत्मविश्वासी र प्रभावशाली बन्ने बताइन्। साथै छोरा–छोरीलाई समान अवसर र समान व्यवहार दिनुपर्नेमा पनि जोड दिएकी छन्।
सविनाका अनुसार नेपालमा नयाँ पुस्ताको राजनीतिक सहभागिता बढिरहेको छ र अब युवाहरू नेतृत्व लिन सक्षम भइसकेका छन्। पुराना नेताहरूले मार्गदर्शकको भूमिका निर्वाह गर्दै युवालाई नेतृत्व हस्तान्तरण गर्ने समय आएको उनको धारणा छ।
प्रधानमन्त्रीको पत्नीको परिचयभन्दा बाहिर आफ्नै पहिचान र योगदान स्थापित गर्न चाहने सविना काफ्लेले सेवा, सरलता, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वलाई जीवनको मूल मन्त्र बनाएको बताएकी छन्। श्रोत – जनताजान्नचाहन्छन ( ऋषिधमला )



