२५ श्रावण २०८३, सोमबार

नेपालगञ्ज वडा नं. २० का वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता

एसीपी संवाददाता

२५ श्रावण २०८३, सोमबार २२:४२ मा प्रकाशित

नेपालगञ्ज, साउन २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० का वडाध्यक्ष कौशल कुमार धोबी र वडा सचिवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। सरकारी कागजात सच्याएको, गलत लिखत तयार पारेको तथा भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएपछि आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।  

आरोपपत्र दायर गरिएका प्रतिवादी नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० का वडाध्यक्ष कौशल कुमार धोबी , वडा सचिव वीरबहादुर थापा मगर , सम्बद्ध व्यक्ति रविन्द्र लामिछाने , विकास कुमार चापागाईँ।

अनुसन्धानका क्रममा २०७९ साउन १० गते रविन्द्र लामिछाने र विकास कुमार चापागाईँबीच भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१७ स्थित कित्ता नम्बर ९९८ को जग्गा खरिदका लागि ७० लाख रुपैयाँ लेनदेन भएको देखाउने झुट्टा तथा नक्कली करारनामा तयार गरिएको पाइएको छ।  

उक्त नक्कली करारनामालाई बैध बनाउन नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० को आर्थिक वर्ष २०७९/८० को लिखत प्रमाणित दर्ता किताबमा पछि सच्याई, थपघट गरी प्रमाणित गरिएको र वडाको सरकारी छापसमेत दुरुपयोग गरिएको आयोगको दाबी छ।  

यसैगरी, वडाध्यक्ष धोबी र वडा सचिव थापा मगरले पदको दुरुपयोग गरी चलानी नम्बर फेरबदल गरेर झुट्टा विवरणसहितको गलत लिखत तयार पारी आयोगमा समेत पठाएको पुष्टि भएको छ। आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x