युवा अभियन्ता ऋतिक शाही १५ हजार नगदसहित ‘बास/ब्राइटल्यान्ड युवा पुरस्कार–२०२६’ बाट सम्मानित
नेपालगन्ज — अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपालगन्जमा आयोजित ‘दोस्रो बाँके युथ कन्क्लेभ’ कार्यक्रममा युवा अभियन्ता ऋतिक शाही ‘बास/ब्राइटल्यान्ड युवा पुरस्कार–२०२६’ बाट सम्मानित हुनुभएको छ।
सहयात्री नेपालका निवर्तमान अध्यक्ष समेत रहनुभएका शाहीलाई बालबालिकाको उद्धार, युवा नेतृत्व विकास, सामाजिक क्षेत्रमा निरन्तरको सक्रियता तथा समुदायमा पुर्याउनु भएको महत्त्वपूर्ण योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो। उहाँलाई समाजसेवा र युवा सशक्तिकरणमा पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै १५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मानित गरिएको आयोजक बास नेपालले जनाएको छ।
बास नेपालद्वारा आयोजित सो भव्य कार्यक्रममा युवा पुस्तालाई सामाजिक रूपान्तरण, नेतृत्व विकास र सकारात्मक अभियानमा सक्रिय बनाउन शाहीले खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गरिएको थियो। पुरस्कार ग्रहण गर्दै युवा अभियन्ता शाहीले यो सम्मानले आफूलाई समाजप्रति थप जिम्मेवार बनाएको बताउँदै आगामी दिनमा पनि युवा र बालबालिकाको क्षेत्रमा अझ बढी ऊर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शाहीको यस उपलब्धीले सहयात्री नेपाललगायत विभिन्न सामाजिक संघसंस्था तथा युवा नेटवर्कहरूमा खुसी र गर्वको वातावरण छाएको छ। उहाँको यो सम्मानले अन्य युवाहरूलाई पनि समाजसेवा र सकारात्मक परिवर्तनतर्फ लाग्न प्रेरणा मिल्ने विश्वास गरिएको छ। 


