बर्दियाका सातवटै स्थानीय तहमा ‘सेफ फ्युचर प्रोजेक्ट’ सुरु: बालविवाहमुक्त र सुरक्षित समाज निर्माणका लागि प्रतिबद्धता
बर्दिया — बालविवाह न्यूनीकरण, बाल संरक्षण र समावेशी समाज निर्माणका लागि बर्दियाका सातवटा स्थानीय तहमा पालिका स्तरीय अभिमुखीकरण तथा परियोजना परिचयात्मक बैठक सम्पन्न भएका छन्।
‘सेफ फ्युचर प्रोजेक्ट’ (Safe Future Project) अन्तर्गत प्लान इन्टरनेसनल नेपालको सहयोग तथा बाँके युनेस्को क्लब (BUC) र राधाकृष्ण थारू जनसेवा केन्द्र (RKJS) को संयुक्त साझेदारीमा (कन्सोर्टियम मोडल) सो कार्यक्रम आयोजना गरिएको हो। बर्दियाका गुलरिया, मधुवन, राजापुर, बारबर्दिया, ठाकुरबाबा नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा सञ्चालन गरिएका यी बैठकहरूमा स्थानीय सरकारका जनप्रतिनिधि, विषयगत शाखा प्रमुख, सरकारी निकाय, समुदाय तथा अन्य सरोकारवालाहरूको व्यापक सहभागिता रहेको थियो। कार्यक्रममा परियोजनाका उद्देश्य, प्राथमिकता र अपेक्षित परिणामका साथै एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) तथ्याङ्कको अद्यावधिक, तथ्याङ्कमा आधारित योजना निर्माण र प्रभावकारी कार्यान्वयनका विषयमा गहन छलफल भएको छ। 
बैठकका मुख्य निष्कर्ष तथा प्रतिबद्धताहरू बैठकले गुणस्तरीय तथा एकीकृत तथ्याङ्क, सुदृढ समन्वय, जवाफदेही साझेदारी र समुदायको अर्थपूर्ण सहभागितालाई नै बालविवाहमुक्त तथा सुरक्षित स्थानीय तह निर्माणका मुख्य आधारका रूपमा ठहर गरेको छ। विशेषगरी स्थानीय तहमा उपलब्ध तथ्याङ्कलाई व्यवस्थित, अद्यावधिक र प्रयोगयोग्य बनाउँदै बालबालिका, किशोरकिशोरी तथा युवासँग सम्बन्धित नीति, योजना, बजेट तथा कार्यक्रमहरू निर्माण गर्नुपर्नेमा जोड दिइएको छ। यसका साथै परियोजनाअन्तर्गत प्रशिक्षित युवाहरूले हासिल गरेका ज्ञान र सीपलाई आफ्नै समुदायमा व्यावहारिक रूपमा प्रयोग गर्दै उनीहरूलाई सकारात्मक सामाजिक परिवर्तनका संवाहकका रूपमा परिचालन गर्ने निष्कर्ष निकालिएको छ। स्थानीय सरकार, समुदाय, विद्यालय र विकास साझेदारहरूबीच निरन्तर संवाद कायम राख्दै समुदायमा देखिने चुनौती र जोखिमहरूको समयमै पहिचान र समाधान गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। 
यसैगरी, बाल संरक्षणसम्बन्धी संरचनागत प्रणालीलाई सुदृढ बनाउँदै बालबालिका तथा युवाहरूका लागि सुरक्षित र समावेशी वातावरण निर्माण गर्न स्थानीय जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन्। विशेषगरी २० वर्षभन्दा कम उमेरमा हुने बालविवाह रोक्नका लागि स्थानीय बाल अधिकार समितिलाई थप सक्रिय र प्रभावकारी बनाएर समुदायस्तरसम्म परिचालन गरिनेछ। बालविवाहसम्बन्धी घटनाको पहिचान, अभिलेखीकरण र रोकथामका लागि प्रचलित कानुनअनुसार कडा कारबाही र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायहरूसँग प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, समुदायमा बढ्दो लागूऔषध दुर्व्यसनबाट बालबालिका र युवाहरूलाई जोगाउन सामुदायिक प्रहरीसँगको सहकार्यमा निरन्तर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र जोखिममा रहेकाहरूलाई परामर्श तथा सहयोग उपलब्ध गराउने सहमति भएको छ। 
समग्रमा, स्थानीय सरकार, समुदाय र विकास साझेदार संस्थाहरू साझा जिम्मेवारीका साथ एकजुट भएर लाग्दा बालविवाहमुक्त, लागूऔषधमुक्त र safe समुदाय निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।


