४ भाद्र २०८३, बिहीबार

बाँकेमा साउन महिनामा १४४ वटा मुद्दा दर्ता, लागुऔषध र काठसहित पक्राउ परे मानिसहरू

एसीपी संवाददाता

४ भाद्र २०८३, बिहीबार १३:४४ मा प्रकाशित

नेपालगन्ज — जिल्ला प्रहरी कार्यालय बाँकेले साउन महिनामा सम्पादित विभिन्न कार्य तथा प्रगति विवरण सार्वजनिक गर्दै जिल्लाको सुरक्षा स्थिति र अपराध अनुसन्धानका तथ्यांकहरू प्रस्तुत गरेको छ। जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइहरूबाट प्राप्त विवरणअनुसार यस महिनामा कुल १४४ वटा मुद्दा दर्ता भएका छन्।

अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ दर्ता भएका मुद्दामध्ये ९ वटा जघन्य तथा गम्भीर प्रकृतिका अपराध रहेका छन् भने ४८ वटा सामान्य अपराधका घटना छन्। यस अवधिमा आर्थिक अपराधसँग सम्बन्धित ३६ वटा घटना दर्ता भएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १५ वटा घटनामा १३ जना पक्राउ परेका छन्। चालु मुद्दाका १२६ जना प्रतिवादीलाई पक्राउ गरिएको छ भने सार्वजनिक चासोका पेन्डिङ मुद्दाहरूको सफल अनुसन्धान २३ वटा भएका छन्।

लागुऔषध र राजस्व चुहावट नियन्त्रण प्रहरीले लागुऔषध नियन्त्रणतर्फ ठूलो सफलता हासिल गर्दै १७ वटा मुद्दामा ३१ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट १ किलोग्राम ७५५ ग्राम ब्राउनसुगर, १६० वटा नाइट्रो जेपाम ट्याब्लेट र २ किलो २६० ग्राम गाँजा बरामद गरिएको छ। अवैध पशुपन्छी तथा वन पैदावार चोरी पैबारी नियन्त्रणतर्फ ३५.९४ क्युफिट काठ नियन्त्रणमा लिई १ लाख १६ हजार ७९० रुपैयाँ राजस्व प्राप्त भएको छ. त्यस्तै, अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिई २ जना मानिस र ५ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले १ हजार १५५ लिटर घरेलु मदिरा नष्ट गर्नुका साथै अवैध हतियार अन्तर्गत बेवारिसे २ थान भरुवा बन्दुकसमेत बरामद गरेको छ।

सवारी दुर्घटना र ट्राफिक कारबाही साउन महिनामा बाँके जिल्लामा ८४ वटा सवारी दुर्घटना भएको तथ्यांक छ। दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ भने २३ गम्भीर र ११४ सामान्य घाइते भएका छन्। यातायात नियम उल्लङ्घन गर्ने १ हजार ४८० वटा सवारी साधनलाई चेकजाँचका क्रममा कारबाही गरी १ लाख २४ हजार ५०० रुपैयाँ राजस्व दाखिला गरिएको छ।

सामुदायिक सचेतना तथा अन्य गतिविधि अपराध न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि विद्यालय र समुदायस्तरमा ११६ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको प्रहरीले जनाएको छ। यी कार्यक्रमहरूबाट २ हजार १२२ जना पुरुष र १ हजार ८०३ जना महिला गरी करिब ३ हजार ९२५ भन्दा बढी नागरिक लाभान्वित भएका छन्।

 जिल्लाका विभिन्न स्थानमा ४ वटा सार्वजनिक/नागरिक सुनुवाइ कार्यक्रमहरू आयोजना गरिएको छ जहाँ लागुऔषध दुर्व्यवहार नियन्त्रण र प्रहरी-समुदाय साझेदारीमा जोड दिइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x