नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन: महिला उपाध्यक्ष पदमा उमा ग्राण्डनलाई विजयी गराउन होटल व्यवसायी संघ बाँकेको अपिल
नेपालगन्ज, ५ भदौ — होटल व्यवसायी संघ बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा महिला उपाध्यक्ष पदकी उम्मेदवार उमा ग्राण्डनलाई मतदान गरी विजयी गराउन सम्पूर्ण उद्योगी र व्यवसायीहरूमा हार्दिक अपिल गरेको छ।
संघले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना आजीवन सदस्य, सक्रिय व्यवसायी एवं होटल व्यवसायी महासंघ नेपालकी केन्द्रीय सचिव समेत रहेकी ग्राण्डनको उम्मेदवारीलाई गौरवका साथ समर्थन गरेको जनाएको हो।
व्यवसायी हित र प्रतिनिधित्वका लागि उम्मेदवारी
होटल तथा पर्यटन व्यवसायको विकास, निजी क्षेत्रको आर्थिक समृद्धि र व्यवसायीहरूको हकहित संरक्षणमा ग्राण्डनले लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएको छ। उद्योग वाणिज्य संघमा महिला व्यवसायीहरूको प्रभावकारी र नेतृत्वदायी प्रतिनिधित्व सुनिश्चित गर्न उहाँको उम्मेदवारी महत्वपूर्ण रहेको संघले उल्लेख गरेको छ।
होटल व्यवसायी संघ बाँकेका अनुसार, होटल, पर्यटन र सेवा क्षेत्रका व्यवसायीहरूको समस्या र आवाजलाई नीतिगत तहमा सशक्त रूपमा प्रस्तुत गर्न उमा ग्राण्डनको जित आवश्यक रहेको छ।
भदौ ६ गते अमूल्य मत दिन अनुरोध
यही भदौ ६ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा महिला उपाध्यक्ष पदकी बलियो उम्मेदवार ग्राण्डनलाई अत्यधिक मतका साथ विजयी गराउन संघले बाँकेका सम्पूर्ण उद्योगी, व्यवसायी तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गरेको छ। ‘व्यवसायी एकता र समृद्ध नेपालगन्ज’ को नारासहित संघले उहाँको पक्षमा माहोल बनाउन सम्पूर्ण उद्योगीहरूलाई आह्वान गरेको छ।


