रसुवा–भोटेकोशी बाढीपहिरोपछि दिपेन्द्र बिष्टको अपिल : ‘सुरक्षित स्थानमा सर्नुहोस्, उद्धारमा जुटौँ’
दिनेश ठाकुर नेपालगन्ज ,भदौ ११ गते — तिब्बत क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण रसुवा, भोटेकोशी लगायत नदी तटीय तथा आसपासका क्षेत्र प्रभावित भएपछि नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय उपाध्यक्ष (एसोसिएट) तथा नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य दिपेन्द्र बिष्टले प्रभावित नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।
बिष्टले सामाजिक सञ्जालमार्फत बाढी तथा पहिरोको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्। विपद्को यस विषम परिस्थितिमा सावधानी अपनाउँदै आफ्नो तथा परिवारको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न उनले अनुरोध गरेका हुन्।
उनले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगका लागि सम्पूर्ण नेपाली नागरिकसँग आ–आफ्नो ठाउँबाट सक्रिय रूपमा जुट्न अपिल गरेका छन्। साथै, आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई समेत विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन आग्रह गरेका छन्।
बिष्टले प्राकृतिक विपद्को सामना एकजुट भएर मात्रै गर्न सकिने उल्लेख गर्दै संकटको समयमा एकअर्कालाई सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्। प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्न तथा आवश्यक राहत र उद्धारमा राज्यका निकायसँगै नागरिक समाज र राजनीतिक दलका कार्यकर्ताले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ।
‘सावधान रहौँ, सजग बनौँ र पीडितहरूको उद्धारमा जुटौँ’ भन्ने सन्देश दिँदै बिष्टले बाढीपहिरो प्रभावित नागरिकको जीवनरक्षाका लागि सबै पक्ष गम्भीर र जिम्मेवार भएर अघि बढ्न आग्रह गरेका छन्।


