सेवा प्रवाह प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका मन्त्री यादवद्वारा बाँके र बर्दियाका कार्यालयको अनुगमन
दिनेश ठाकुर नेपालगञ्ज,भदौ २० गते — लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री मा. भण्डारीलाल यादव तथा प्रदेश सचिव भरतमणि पाण्डेसहितको टोलीले बाँके र बर्दिया जिल्लास्थित विभिन्न सरकारी कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ।
टोलीले बाँके जिल्लास्थित यातायात कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र भन्सार कार्यालय तथा बर्दिया जिल्लास्थित छोटी भन्सार कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको अनुगमन तथा निरीक्षण गरेको हो।
अनुगमनका क्रममा सम्बन्धित कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू, कार्यालयको कार्यसम्पादनको अवस्था तथा सेवाग्राहीले भोग्दै आएका समस्या र गुनासाबारे जानकारी लिइएको थियो।
मन्त्री यादवसहितको टोलीले प्रदेश मातहतका कार्यालय प्रमुखहरूसँग कार्यालय सञ्चालन, सेवा प्रवाह तथा सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने विषयमा छलफल गर्दै आवश्यक सुझाव तथा निर्देशन दिएको जनाइएको छ।
अनुगमनका क्रममा सरकारी सेवा सरल, सहज, पारदर्शी, प्रभावकारी र जनमैत्री बनाउन विशेष ध्यान दिन कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ।
मन्त्री यादवले सरकारी कार्यालयमा आउने प्रत्येक सेवाग्राहीले अनावश्यक झन्झट बेहोर्न नपर्ने गरी छिटो, छरितो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ।
प्रदेश सरकार जनताको सेवा र सुविधालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उहाँले कार्यालयहरूको नियमित अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिइने बताउनुभयो।
“जनताको सेवा नै हाम्रो प्राथमिकता हो,” मन्त्री यादवको भनाइ छ।



