भोटेकोसी बाढीमा बेपत्ता जोशी दम्पतीका आश्रित परिवारलाई भारतका अग्रवालको सहयोग
दिनेश ठाकुर नेपालगन्ज ,भदौ २५ गते — भोटेकोसी नदीमा आएको बाढी तथा पहिरोमा परी गत भदौ १० गतेदेखि सम्पर्क विहीन रहेका बाँकेको कोहलपुर नगरपालिका–१२ निवासी वीरेन्द्र जोशी र उनकी श्रीमती सत्या जोशीका आश्रित परिवारलाई भारतको एक अग्रवाल परिवारले मानवीय सहयोग गरेको छ।
भारत उत्तर प्रदेशको लखिमपुर खिरी निवासी समाजसेवी केशवराम अग्रवालले जोशी परिवारका लागि १ लाख भारतीय रुपैयाँ सहयोग गरेका हुन्। उक्त सहयोग नेपालगन्जका व्यवसायी सकिल अहमद जसगढ मार्फत पीडित परिवारसम्म पुर्याइएको हो।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको उपस्थितिमा बिहीबार जसगढले जोशी परिवारलाई १ लाख नेपाली रुपैयाँ नगद हस्तान्तरण गरेका छन्। बाँकी रकमबाट पीडित परिवारलाई आवश्यक सामग्री खरिदका लागि भुक्तानी गरिने जसगढले बताए।
बेपत्ता जोशी दम्पतीका तीन सन्तानमध्ये जेठा छोरा सन्तोषले आफ्ना अभिभावक मामासहित जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर सहयोग रकम ग्रहण गरेका हुन्।
विपद्को कठिन अवस्थामा छिमेकी मुलुक भारतबाट प्राप्त मानवीय सहयोगले जोशी परिवारलाई केही राहत मिलेको परिवारका सदस्यले बताएका छन्।


