किर्ते कागज र नक्कली लेटरप्याड प्रयोग गरेर लुम्बिनी प्रदेश सभा सदस्यलाई पदमुक्त गरिएको भन्दै जसपा नेपालद्वारा गम्भीर आपत्ति।
काठमाडौं, भदौ २५ — जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सभा सचिवालयद्वारा पार्टीका प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई दल त्यागसम्बन्धी सूचना प्रकाशित गरी पदमुक्त गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महासचिव डा. सुरेन्द्र कुमार झाद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त निर्णय किर्ते तथा नक्कली कागजजातलाई आधार बनाई गरिएको गैरकानूनी, असंवैधानिक र संसदीय अभ्यासको मर्मविपरीत रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा जनाइए अनुसार, जसपा नेपालले भदौ १ गते नै लुम्बिनी प्रदेश सभा संसदीय दललाई मुख्यमन्त्री चेतनारायण आचार्यलाई दिने विश्वासको मतको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको थियो। उक्त ह्वीप उल्लंघन गर्ने प्रदेश सभा सदस्यहरू सन्तोष कुमार पाण्डेय, आदेश कुमार अग्रवाल, भण्डारीलाल अहिर र हेमा वेल्वासेलाई पार्टीले स्पष्टीकरण सोधिसकेको र चित्तबुझ्दो जवाफ नआएपछि भदौ १६, १७ र १८ गतेको केन्द्रीय कार्यकारी समितिको बैठकबाट साधारणसमेत नरहने गरी कारबाही गरिसकेको छ।
पार्टीले सह–महासचिव अजय झाको हस्ताक्षर रहेको भनिएको पत्र र प्रयोग भएको लेटरप्याड तथा छापसमेत नक्कली रहेको ठहर गरेको छ। अजय झा पार्टीको साधारण सदस्यसमेत नरहेको अवस्थामा निजको नामबाट प्रस्तुत पत्रलाई जसपा नेपालको केन्द्रीय समितिको निर्णयका रूपमा स्वीकार गर्नु गम्भीर आपत्तिजनक र गैरकानूनी भएको पार्टीको निष्कर्ष छ।
सत्ता जोगाउने राजनीतिक स्वार्थका लागि किर्ते कागजको प्रयोग गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने माग गर्दै जसपा नेपालले लुम्बिनी प्रदेश सभा सचिवालयको निर्णय तत्काल सच्याउन, घटनाको निष्पक्ष छानबिन गर्न तथा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, यस विषयमा निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराउँदै आवश्यक न्यायिक तथा कानुनी उपचारका प्रक्रियाहरू अवलम्बन गर्ने जानकारी गराइएको छ।


