राप्रपा बाँके क्षेत्र नं. १ को अधिवेशन सम्पन्न, नेतृत्व सर्वसम्मत चयन
दिनेश ठाकुर, बाँके, भदौ २८ गते — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), बाँके क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (क) तथा गाउँपालिकास्तरीय अधिवेशन भव्यतापूर्वक सम्पन्न भएको छ।
पूर्वमन्त्री एवं राप्रपाका केन्द्रीय सदस्य प्रेमबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पार्टीका नेता अरुण प्रताप सिंह, मुस्लिम संगठनका केन्द्रीय अध्यक्ष सलाउद्दिन जगढ लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
अधिवेशनले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल गर्दै विभिन्न तहका नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशनबाट राप्ती सोनारी गाउँपालिका अध्यक्षमा हिरालाल केसी, प्रदेश सभा (क) अध्यक्षमा लक्ष्मी थारु र बाँके क्षेत्र नं. १ अध्यक्षमा लवराज खरेल सर्वसम्मत चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण पदाधिकारी र कार्यसमितिलाई अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
अधिवेशनले पार्टीको विचार, संगठन र राष्ट्रवादी अभियानलाई स्थानीय तहसम्म थप प्रभावकारी रूपमा विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको जनाइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), बाँकेका जिल्ला सयाेजक मिना श्रेष्ठले बताउनुभयो ।


