नेपालगञ्जमा हवाई फायर गरी १०३ ग्राम खैरो हेरोइनसहित नदिम राई पक्राउ
नेपालगञ्ज, असोज ७ — लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जले बाँकेको नेपालगञ्जमा फिल्मी शैलीमा कारबाही गर्दै ठूलो परिमाणमा लागु औषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। लुम्बिनी र कर्णाली प्रदेशमा भइरहेको लागु औषधको अवैध कारोबार र ओसारपसारलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले सो सफलता प्राप्त गरेको हो।
लागु औषध नियन्त्रण ब्यूरो कार्यालय नेपालगञ्जबाट खटिएको विशेष प्रहरी टोलीले गत असोज ६ गते राति करिब पौने ११ बजेको समयमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ स्थित क्षेत्रमा निगरानी बढाइरहेको थियो। सोही क्रममा भारतको बाहपंखी क्षेत्रबाट लागु औषध खैरो हेरोइन संकलन गरी नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका एक व्यक्तिलाई प्रहरीले शङ्का लागेर रोक्ने प्रयास गरेको थियो।
तर, प्रहरीको सङ्केतलाई बेवास्ता गर्दै भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चेतावनी स्वरूप २ राउण्ड हवाइ फायर गरेको थियो। त्यसरी पनि तस्कर नरोकिएपछि प्रहरीले बाध्य भएर मोटरसाइकलको टायरमा २ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ।
गोली प्रहार गरी नियन्त्रणमा लिइएका व्यक्तिको खानतलासी गर्दा उनको साथबाट १०३ ग्राम ७९० मिलिग्राम लागु औषध खैरो हेरोइन फेला परेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्ला, रुपैडिया थाना, चकिया रोड निवासी २४ वर्षीय नदिम राई रहेका छन्।
उनको साथबाट लागु औषधका साथै भारतीय नम्बर UP40J0657 को एक थान मोटरसाइकल र एक थान मोबाइल पनि बरामद गरिएको छ। पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।



