जसपा नेपाल आन्दोलनको तयारीमा, ‘हुँकार मधेश’ मार्फत सनातन हिन्दु राष्ट्रको मुद्दा पनि चर्चामा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधन, समावेशिता, जनजीविका तथा मधेशका राजनीतिक मुद्दालाई लिएर आन्दोलनको तयारी गरिरहेको जनाएको छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै सार्वजनिक अभिव्यक्तिमार्फत चाडपर्वपछि सडक आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन्। उनले संविधान संशोधन, चुनाव प्रणाली सुधार, जनजीविका तथा मधेश राज्यसम्बन्धी विषयलाई आन्दोलनका प्रमुख मुद्दाका रूपमा अघि सारेका छन्।
यसैबीच मधेशमा ‘हुँकार मधेश’ नामक अभियानमार्फत सनातन हिन्दु राष्ट्रको मागसमेत उठाइएको छ। उक्त अभियानमा विभिन्न राजनीतिक दलसँग आबद्ध वा पूर्वआबद्ध मधेशी युवाहरू सहभागी रहेको र धार्मिक स्वतन्त्रतासहित सनातन हिन्दु राष्ट्रको पक्षमा अभियान सञ्चालन गर्ने बताइएको छ।
अभियानसँग जोडिएको सन्देशमा भगवान श्रीकृष्णको जन्मलाई सत्यको स्थापना, मानवताको रक्षा तथा अधर्मको अन्त्यसँग जोड्दै वर्तमान समयका सामाजिक तथा राजनीतिक विकृतिविरुद्ध आवाज उठाउन आह्वान गरिएको छ।
सन्देशमा भनिएको छ, “सनातन संस्कृतिको संरक्षण र हिन्दु राष्ट्र स्थापनाका लागि हुँकार मधेशको जन्म पनि प्राकृतिक प्रतिकूलताबीच घोषित मिति र स्थानमै हुन गइरहेको छ।” साथै कार्यक्रममा सहभागी हुन समर्थक तथा शुभेच्छुकहरूलाई आग्रह गरिएको छ।


