नागरिकका समस्या बुझ्न : राष्ट्रिय जनमत पार्टी वडा-वडामा, ‘जनताप्रतिको जिम्मेवारी कहिल्यै भुल्दैनौँ’ :- नेता बुलडोजर बाबा (इरफान अहमद शेष)
दिनेश ठाकुर, नेपालगञ्ज, असोज १४ — राष्ट्रिय जनमत पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा टोलस्तरसम्म पुगेर नागरिकका समस्या, गुनासा र आवश्यकता बारे प्रत्यक्ष जानकारी लिने अभियानलाई तीव्रता दिएको छ।
पार्टीले वडा–वडामा आयोजना गरेका छलफल तथा भेटघाट कार्यक्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका वास्तविक समस्या संकलन गर्ने र समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने जनाएको छ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमत पार्टीका नेता बुलडोजर बाबा (इरफान अहमद शेष) ले जनताको सुख–दुःखमा साथ दिनु पार्टीको प्रमुख जिम्मेवारी भएको बताउनुभयो। उहाँले नागरिकका समस्या बुझ्न र समाधानका लागि पहल गर्न पार्टी वडा तथा टोलस्तरमै पुगिरहेको जानकारी दिनुभयो।
“हामी जनताकै बीचबाट आएका हौँ। जनताका हरेक सुख–दुःखमा साथ दिनु हाम्रो पहिलो कर्तव्य हो,” उहाँले भन्नुभयो, “नेपालगञ्ज उपमहानगरपालिकाभित्र रहेका वास्तविक समस्या पहिचान गरी समाधानका लागि पहल गर्न वडा–स्तरीय छलफल सुरु गरेका हौँ।”
पार्टी नेताहरूले जनहित, नागरिकको हक–अधिकार, स्थानीय विकास तथा सुशासनका विषयमा निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले नागरिकबाट प्राप्त सुझाव र गुनासोलाई आगामी कार्यदिशा तय गर्नसमेत उपयोग गरिने बताएका छन्।
छलफलका क्रममा स्थानीय नागरिकहरूले सडक, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, रोजगारी, विकास निर्माण तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न समस्या र गुनासा राखेका थिए।
कार्यक्रममा सहभागी पार्टीका कार्यकर्ताहरूले ‘बुलडोजर छाप जिन्दावाद’ र ‘राष्ट्रिय जनमत पार्टी जिन्दावाद’ लगायतका नारा लगाउँदै उत्साह व्यक्त गरेका थिए।
अभियानमा राष्ट्रिय अध्यक्ष रियाज अहमद शेष, महासचिव राजा सिंह, केन्द्रीय सदस्यहरू अब्दुल गफुर खान, रोशन चौधरी, अब्दुल हासिम फारुकी, राजेश बर्मा र राम निवास तेली, युवा नेता मो. हिफजुल खान, वडा प्रतिनिधि बकरिदी बेहना, महिला नेतृ रिया पौडेल, युवा नेता राम नाथ मण्डल, रिजवान शाह र रिजवान शेष लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।


