८ कार्तिक २०८३, शनिबार

नेपालगञ्जको रामलीला मैदानमा राष्ट्रिय जनमत पार्टीको वृहत् सरसफाइ अभियान

एसीपी संवाददाता

८ कार्तिक २०८३, शनिबार १९:५२ मा प्रकाशित

नेपालगन्ज –  ‘स्वच्छ शहर, स्वस्थ समाज’ नारासहित सार्वजनिक स्थल सफाइमा जुटे नेता तथा कार्यकर्ता
दिनेश ठाकुर, नेपालगञ्ज, ७ कात्तिक । ‘स्वच्छ शहर, स्वस्थ समाज’ भन्ने नाराका साथ राष्ट्रिय जनमत पार्टी नेपालगञ्ज उपमहानगरपालिका कमिटीको आयोजनामा बाँकेको नेपालगञ्जस्थित ऐतिहासिक रामलीला मैदानमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।सार्वजनिक स्थललाई स्वच्छ, सफा र व्यवस्थित राख्नुका साथै समाजमा वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय नेतृत्व, जिल्ला तहका नेता, स्थानीय कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
सरसफाइ कार्यक्रममा राष्ट्रिय जनमत पार्टीका राष्ट्रिय सभापति रियाज अहमद शेख र महासचिव राजा सिंह सरदारलगायत केन्द्रीय नेताहरूको विशेष उपस्थिति रहेको थियो। सहभागी नेता तथा कार्यकर्ताहरूले हातमा कुचो लिएर रामलीला मैदान र आसपासका क्षेत्रमा थुप्रिएको फोहोरमैला संकलन गर्दै सरसफाइ गरेका थिए।
कार्यक्रममार्फत ऐतिहासिक तथा सार्वजनिक स्थलको संरक्षण, वातावरणीय स्वच्छता र सामाजिक उत्तरदायित्वप्रति नागरिकलाई सचेत गराउने प्रयास गरिएको आयोजकले जनाएको छ। सार्वजनिक स्थान सफा राख्नु सबै नागरिकको साझा जिम्मेवारी भएकाले यस्ता अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वाससमेत लिइएको छ।
राष्ट्रिय जनमत पार्टीका केन्द्रीय संरक्षक इरफान अहमद शेखले सरसफाइ अभियानले स्वच्छ वातावरण निर्माणसँगै समाजमा जनसेवा र सामूहिक जिम्मेवारीको भावना विकास गर्न सहयोग पुग्ने बताउनुभयो।उहाँले सार्वजनिक स्थलको सरसफाइलाई अभियानमा मात्र सीमित नराखी दैनिक जीवनको व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। स्वच्छ शहर निर्माणका लागि राजनीतिक दल, नागरिक समाज र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने पार्टीको केन्द्रीय नेतृत्व, जिल्ला तहका नेतागण, कार्यकर्ता तथा सम्पूर्ण सहभागीप्रति नेपालगञ्ज उपमहानगरपालिका कमिटीले धन्यवाद व्यक्त गरेको छ।
राष्ट्रिय जनमत पार्टीले सञ्चालन गरेको यस सरसफाइ अभियानले नेपालगञ्जको सार्वजनिक स्थललाई स्वच्छ राख्न र वातावरण संरक्षणप्रति नागरिकको जिम्मेवारीबोध बढाउन सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x