११ मंसिर २०८३, बिहीबार

सिंगो मधेसले प्रधानमन्त्री ओलीलाई राम्ररी चिनेका छन् कि उनी कट्टर मधेसविरोधी व्यक्ति हुन्

एसीपी संवाददाता

२५ पुष २०७७, शनिबार ०३:५४ मा प्रकाशित

फाइल तस्बिर

संविधान निर्माण गर्ने बेलामा तराई–मधेसलाई जतिसुकै उपेक्षा र तिरस्कार गरे पनि त्यसको रक्षाका लागि सबैभन्दा अगाडि मधेसी समुदाय नै देखिन्छ। सैद्धान्तिक र वैचारिक रूपमा मात्र होइन; सांगठनिक रूपमा समेत तराई–मधेसको भावनात्मक सोच र इच्छाको प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टीले (जसपा) प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक तथा अलोकतान्त्रिक कदमको विरुद्धमा जसरी खनिएका छन्; त्यसरी कांग्रेस र दाहाल–नेपाल समूहले नेतृत्व गरेको कम्युनिस्ट पार्टीले पनि आक्रामक हुन सकेको देखिन्न।

नेपाली कांग्रेसको सोचमै खोट देखिन्छ भने वामदेवसहित दाहाल–नेपाल समूह पनि केपी ओलीसँग एकताको राग अलापिरहेका छन्। एउटा यस्तो व्यक्ति जसले ऐतिहासिक संविधानसभाद्वारा निर्मित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावना आत्मसात गर्न सकेन। कतिसम्म भने भर्खरै वामे सर्न लागेको सर्वोच्च संसद् भंग गर्दा अलिकति पनि दुःखको अनुभूति गरेन। यति मात्र होइन; करिब दुईतिहाइ मत बटुलेका पार्टीलाई समेत कहिल्यै टेरपुच्छर लगाएन।

रसुवा हुँदै नेपाल आएको तीन सदस्यीय चिनियाँ टोली नेकपा मिलाउन अझै सक्रिय

टाढा जानु पर्दैन; छेउकै मित्रराष्ट्र भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी जसको नेतृत्वमा पाकिस्तानको विभाजन र बंगलादेशको जन्म भयो। यसले भारतीय जनमानसको मस्तिष्कमा साक्षात् दुर्गाका रूपमा उनी अवतरित भइन्; जसले उनलाई आपत्कालजस्तो गैरप्रजातान्त्रिक तथा तानशाही कदम चाल्न उत्प्रेरित गर्‍यो। नेता ओली इन्दिरा गान्धी झैं आफूलाई ६४ प्रतिशतको समर्थन रहेको दाबी गरिरहन्छन्, जनताबाट जनअनुमोदित प्रधानमन्त्री भएको बताइरहन्छन्। त्यसैले सन् सत्तरीको दशकमा समाजवादी नेता जयप्रकाश नारायणले इन्दिरा गान्धीको विरुद्धमा जसरी सम्पूर्ण क्रान्तिको विद्रोहात्मक नाराको उद्घोष गरेका थिए; त्यसलाई नेपालीय संस्करणमा उल्था गर्ने बेला भएको छ।

सिंगो मधेसले प्रधानमन्त्री ओलीलाई राम्ररी चिनेका छन् कि उनी कट्टर मधेसविरोधी व्यक्ति हुन्।

मधेसको माग उनको लागि विषाक्त छ। त्यसैले दुईतिहाइको नजिक पुग्दा र उनकै प्रस्तावमा तराई–मधेसले कालापानी नेपालको नक्सामा समेट्न होस्टेमा हैंसे गर्दै मोहर लगाउँदासमेत उनले संविधान संशोधन गरेनन्। बरु उल्टै नेपालको अन्तरिम संविधान २०६३ बाट निःसृत अधिकारविपरीत संसद्मा नागरिकता विधेयक पास हुन नदिन पार्टीबाट निर्णय गर्न लगाए। मधेसी, आदिवासी÷जनजाति, दलितको अधिकार लोकसेवा आयोगबाट अपरण गरे। थरुहट विद्रोहका नायक सांसद रेशम चौधरीप्रतिको व्यवहारले आज सिंगो मुलुकले सम्पूर्ण क्रान्तिको माग गरेको छ। यतिखेर ओलीको विरुद्धमा जनता समाजवादी पार्टीले आन्दोलनको जुन रूपरेखा र खाका तयार पारेको छ। त्यसले उनको असंवैधानिक तथा गैरप्रजातान्त्रिक कदमको विरुद्धमा सबैलाई गोलबन्द गर्ने र क्रान्तिकारी मार्गप्रशस्त पार्ने एउटा परिपक्व अभ्यास हो; जसले अन्ततोगत्वा ओलीलाई सत्ताच्युत हुन बाध्य पार्नेछ।

विवादास्पद चरित्र

ओलीका आचरण, व्यवहार र क्रियाकलापबाट के पुष्टि भएको छ भने लेस मात्रको कम्युनिस्ट गुण उनीभित्र छैन। उनी कम्युनिस्ट चरित्रविहीन व्यक्ति हुन्। महाकाली सन्धिताकाको उनको विवादास्पद चरित्र प्रस्टरूपमा मुखरित भएको छ।

जनता समाजवादी पार्टी यस अर्थमा परिपक्व मानिन्छ कि उसको एउटा प्रदेशमा सरकार पनि छ; त्यसैले पार्टीले संयुक्त आन्दोलनको आवधारणा आउनुभन्दा पहिले आफ्नो क्षमता शक्ति प्रदर्शनका रूपमा अभिव्यक्त गर्न चाहन्छ।
नाकाबन्दीकालीन राष्ट्रवाद उदांगिएको छ। इमानदारी छताछुल्ल भएको छ। देउवाको भरथेगमा साम्राज्यवादको पिठ्युँ बनेका छन्। एमसीसीलाई हुबहु शिरोधार्य गर्न उद्यत् हुनु यसको ज्वलन्त प्रमाण हो। संघीयता, समावेशिता, समानुपातिकता र धर्मनिरपेक्षताको विरोधीका रूपमा रहेका यिनी गणतन्त्रप्रति पनि कहिल्यै सकारात्मक हुन सकेनन्। बयलगाडा चढेर माओवादीहरू अमेरिका पुग्न खोजिरहेका छन् भन्ने गणतन्त्रप्रतिको उनको टिप्पणी जहिले पनि चर्चापरिचर्चाको विषय बन्ने गरेको छ। त्यसैले जसपाका अध्यक्ष उपेन्द्र यादवको शब्दमा यिनी राजा महेन्द्रका अर्का संस्करण हुन्। सम्भवतः ओली मन्त्रिपरिषद्को टर्रो स्वाद चाखिसकेका यादव यो निष्कर्षमा पुगेका होलान्। दुईतिहाइको झीनो मतबाट पछाडि रहेका ओलीलाई संविधान संशोधनको सर्तमा उनी आफ्ना १६ सांसदले समर्थन दिएका थिए। तर ओलीले कत्ति पनि सुनेनन्।

नाकाबन्दीको ढोल पिटेर उनले त्यत्रो नेपालीको मत बटुल्न सके; आज तिनै भारतका गुप्तचर संस्थाका प्रमुखलाई घरमा निम्याउनु कति विवादास्पद र गम्भीर कुरा हो भन्ने बुझ्दाबुझ्दै राष्ट्रवादका राग अलाप्नेहरू आजपर्यन्त उनको पिछलग्गु भएका छन्। उदेकलाग्दो कुरा त जसले संविधान निर्माणताका ओलीको विरुद्धमा जीउजान लगाएर मधेस आन्दोलनका पक्षमा वकालत गरिरहेका थिए। कतिसम्म भने संविधान निर्माणका पक्षमा पार्टीले जारी गरेको ह्विपसम्म मानेनन्। त्यस्ता खलपात्रले मन्त्री पद पड्काएका छन् र प्रचण्डप्रतिको रोष यसरी प्रकट गरिरहेका छन् कि ओली निर्दोष हुन्। यस्ताले मधेसी मतदातासँग कसरी भोट माग्लान् ?

ओलीको मधेसमा प्रभाव

सत्ताले सबैभन्दा पहिले कमजोर मनस्थिति भएकाहरूलाई हल्लाउँछ। तराई–मधेसवासी काठमाडौंद्वारा शासित भएकाले मनोवैज्ञानिक रूपमा उसले दासत्व स्वीकार गर्न ढिलाइ गर्दैन। फलस्वरूप सत्ता, शक्ति र भक्ति उसको प्राथमिकताका विषयवस्तु हुन जान्छ। दुई घन्टा पहिलेसम्म रघुवीर महासेठ, प्रभु साह र गौरीशंकर चौधरी दाहाल–नेपाल समूहको वकालत गरिरहेका थिए तर सत्ताको सुइँको पाएपछि क्याम्प परिवर्तन गर्न एक घन्टा पनि लागेन। साह, चौधरीका अलावा महासेठकी पत्नी जुली महतोले मन्त्री पद पड्काइन्। यसबाट तराई–मधेसमा ओली पक्षले आफ्नो स्थिति बलियो पार्न प्रयास गरेको देखिन्छ तर पर्साबाहेक उसले प्रदेश २ मा दाहाल–नेपाल समूहलाई उछिन्न सकेका छैनन्। सप्तरी र सिरहामा ३० प्रतिशतभन्दा बढी छैन भने धनुषामा मुखामुख भनिए पनि दाहाल–नेपालकै पल्ला भारी छ।

यही अनुपातमा अन्य चारवटा जिल्लामा पनि ओली पक्षको दयनीय अवस्था इंगित गर्छ। अर्थात् जनयुद्ध र मधेस विद्रोहबाट सिर्जित परिस्थितिले मधेसी समुदायको मनोविज्ञानलाई ऊर्जावान् बनाउन जुन भूमिका खेल्यो; त्यसलाई आज केही कम्युनिस्ट भनाउँदाहरूले धोती लगाइदिएको छ। माओवादी पृष्ठभूमि बोकेकाहरूले नै जनयुद्धलाई समेत अपमान गर्न पुगेका छन्। ओली आफ्नै सोचअनुसार उत्पादन गरेका सत्यनारायण मण्डलजस्ता लोभी झूटको खेती गर्ने र ठेकेदारमार्काका किशोरी साह तथा रघुवीर महासेठलाई लोभ्याउनु कुनै ठूलो होइन। यसमा प्रदेश सांसद रामचन्द्र मण्डलको पलायन पक्कै पनि पूर्वमाओवादीका लागि सोचनीय विषय हो।

सम्पूर्ण क्रान्तिको उठान विन्दु

प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलनको शंखनाद प्रदेश २ बाट भइसकेका छन्। भर्खरै मुख्यमन्त्री लालबाबु राउतले संविधानमा मधेसको स्वामित्व नभए पनि संघीयता रक्षाका लागि आफूहरू तत्पर रहेको बताएका छन्। प्रधानमन्त्री ओलीको विरोधमा मधेसी जनताले ६ महिनासम्म आफ्नो पेट बाँधेर गरेको आन्दोलनलाई भारतीय पक्षसँग जोडेकाले सफल हुन सकेको थिएन। यसप्रति तराई–मधेस पूर्णरूपेण सचेत छ यसपटक। त्यसैले कांग्रेसको द्वैधचरित्रवादी आन्दोलनले निष्कर्षमा पुर्‍याउँदैन भन्ने तराई–मधेसले मात्र होइन; सिंगो मुलुकले आत्मसात गरिसकेको छ।

ठूला पार्टीहरू आन्तरिक द्वन्द्वको चपेटामा रहेका बेला समाजवादी जनता पार्टीको विरोधका कार्यक्रमले एउटै तिरले दुइटा सिकार गर्न खोजेको देखिन्छ। एकातिर प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदमको विरोध गर्दै सडकबाट जनताका पक्षमा फैसला गराउन चाहन्छ भने अर्कातर्फ नेपाली जनतालाई वैकल्पिक शक्तिका रूपमा एउटा सशक्त पार्टी उदाएको आभाससमेत दिन चाहन्छ। त्यसैले वर्तमान संविधानमा मधेसी समुदायको स्वामित्व कति छ भन्ने लेखाजोखा नगरी सम्पूर्ण क्रान्तिसरह आन्दोलनको आह्वान गरेका छन्।

कांग्रेस र कम्युनिस्ट पार्टीको शासन सत्ताबाट आहत महसुस गरेका नेपाली जनतालाई वैकल्पिक शक्तिको खोजी छ। केही नितान्त नौलो पार्टीहरू स्थापना पनि भएका छन् तर तिनीहरूको परिधि यति साँघुरो छ कि त्यसले तत्कालै नेपाली समाजको मूलभूत समस्यालाई सम्बोधन गर्ने हैसियत राख्दैन। जनता समाजवादी पार्टी यस अर्थमा परिपक्व मानिन्छ कि उसको एउटा प्रदेशमा सरकार पनि छ; जसबाट उसले पर्याप्त अनुभव बटुलेको छ। त्यसैले पार्टीले संयुक्त आन्दोलनको आवधारणा आउनुभन्दा पहिले आफ्नो क्षमता शक्ति प्रदर्शनका रूपमा अभिव्यक्त गर्न चाहन्छ। यो तथ्यलाई जोसुकैले पनि अनुभूत गर्न सक्छ। आखिर समाजवादी जनता पार्टी किन यति उताउलो भएर अन्य राष्ट्रिय पार्टीलाई उच्छिन्न खोजेको छ त ? / यो बिचार राम रिझन यादव,अन्नपर्णपोष्टबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x