११ मंसिर २०८३, बिहीबार

संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने समेत चेतावनी

एसीपी संवाददाता

२६ पुष २०७७, आईतवार ०२:५५ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिक कदम सच्याउनुको विकल्प नभएको बताउनुभएको छ ।
संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा गरिरहेको विरोधसभाअन्तर्गत शनिबार काठमाडौं १ (क) मा आयोजित विरोध सभामा बोल्दै सिंहले प्रधानमन्त्रीले हुदै नभएको अधिकार प्रयोग गरेर संसद बिघटन गरेको भन्दै असंवैधानिक कदम सच्याउनुको विकल्प नभएको बताउनुभएको हो । विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने उहाले बताउनुभयो । नेता सिंहले कांग्रेस नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने समेत चेतावनी दिनुभयो ।
नेता सिंहले संसद् विघटनको विषय सर्वोच्च अदालतले हेरिरहेको र अदालतले व्याख्या गर्दा संविधानको भावना र मर्मअनुसार गर्नेमा आफू विश्वस्त रहेको धारणा राख्नुभयो । नेता सिंहले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप पनि लगाउनुभयो ।

यसै बिच मकवानपुरमा आयोजित सभामा कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र धरापमा परेको बताएका छन् । प्रधानमन्त्री ओलीले असंवैधानिक तवरबाट प्रतिनिधिसभाको विघटन गरेको विरोधमा कांग्रेसले हेटौंडामा गरेको सभामा बोल्दै नेता केसीले पार्टीभित्रको आन्तरिक कलह र व्यक्तिगत लहडका कारण लोकतन्त्रलाई धरापमा पार्ने काम भएको बताए ।
‘संविधानको मूल मर्मलाई लत्याएर प्रतिनिधिसभा विघटन गरेर ओलीले लोकतन्त्रलाई धरापमा पारे,’ उनले भने । २०१७ मा राजाले संविधानकै एउटा धारा दुरुपयोग गरेर संसद् विघटन गरेजस्तै अहिले त्यही यात्रामा ओली सरकार अघि बढेको उनको आरोप थियो । ‘अहिले निर्वाचन पनि हुन नसक्ने, संसद् पनि पुन:स्थापना हुन नसक्ने अवस्था आयो भने मुलुक अन्धकारको सुरुङभित्र प्रवेश गर्छ,’ उनले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x