नेकपाको दुई समूहवीच झडप हुँदा वडाध्यक्ष घाइते,थप उपचारका लागि सदरमुकाम सिमकोट
हुम्ला । नेकपाको दुई समूहवीच झडप हुँदा घाइते भएका वडाध्यक्षलाई थप उपचारका लागि सदरमुकाम सिमकोट ल्याइएको छ । हुम्लाको अदानचुची गाउँपालिकामा ओली र प्रचण्ड-नेपाल समूहवीच झडप हुँदा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते हुनुभएको थियो । घाइते थापालाई थप उपचारका लागि हेलिकप्टरबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको हो । आइतबार दिउँसो वडाध्यक्ष थापाको नेतृत्वमा अदानचुलीको कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटि गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते हुनुभएको गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनुभयो ।
थापाको टाउको तथा मुखमा चोट लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाई उपचार गरिएको भएपनि स्थानीय स्वास्थ्य चौकीमा थप उपचार नहुने भएपछि माउण्टेन एयरको हेलिकप्टर चार्टर गरी थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याइएको गाउँपालिका अध्यक्ष फडेराले बताउनुभयो । वडा अध्यक्ष थापाको अहिले जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेको छ । पूर्व माओवादीबाट वडा अध्यक्षमा निर्वाचित थापा नेकपा विभाजित हुँदा अहिले ओली समूहमा लाग्नुभएको छ ।



