११ मंसिर २०८३, बिहीबार

कम्युनिस्ट संग साथ गरे धोखा पाईन्छ – देउवा

एसीपी संवाददाता

६ माघ २०७७, मंगलवार १८:०९ मा प्रकाशित

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई कम्युनिष्टलाई भर गर्ने आधार बताउन आग्रह गरेका छन्। सोमबार दिउसो एक्कसी पौडेल निवास बोहोराटार पुगेका देउवाले पौडेल समक्ष आन्दोलनमा गएर पछि धोखा पाइने बताएका हुन्।

अत्यन्तै गोप्य कुराकानी गर्नुपरे पनि आफू निकट कोहिलाई राख्ने देउवाले सोमबार भने ‘वान टु वान’ टक गर्नको लागि नै पौडेल निवास आएको बताए। अनि सुरु भयो दुई बीच लगभग एक घण्टे वार्ता।

नेपाली काँग्रेस अझै पनि यो संसद विघटनले निम्ताएको स्थितिमा कसरी अघि बढ्ने भनेर अल्मलिएको छ। काँग्रेसको संस्थापन पक्ष चुनावको पक्षमा छ भने पौडेल-सिटौला पक्ष संसद पुनस्थापना नै हुनुपर्छ भन्दै छन्। पौडेल-सिटौला पक्ष किन भनिएको भने कोइराला परिवारको नेतृत्व गरिरहेका महामन्त्री शशांक कोइराला अहिलेको परिस्थिति जटिल भएको, राष्ट्रिय अन्तराष्ट्रिय शक्तिको चलखेल बढेको अवस्थामा पार्टी नै एक ढिक्का हुन्छ भन्ने स्थिति नरहेकोले पछि प्रतिकुल परिस्थिति बने दुई समूहलाई मिलाएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्छ भन्दै अहिले मौन बस्ने निर्णय गरेका छन्।

अर्को तर्फ अदालतको विचाराधीन मुद्धामा बोल्ने कि नबोल्ने भन्ने पनि विवाद देखिएको छ। गणतन्त्र घोषणा गर्दा देखिएको धुर्विकरण पछि काँग्रेस भित्र यस्तो वैचारिक धुर्विकरण देखिएको थिएन। अदालतमा विचाराधीन मुद्धामा बोल्न मिल्ने संस्थापन इतर पक्षको तर्क छ भने बोल्न मिल्दैन भन्ने संस्थापन पक्षको तर्क छ।

यसै बीच पौडेल पहिले भन्दा बढी नै मुक्खर देखिएका छन्। भने, देउवाले निर्णय लिन नसके जस्तो देखिन्छ। दुवै पक्षसँग यति सम्म अविश्वास छ कि दुवै पक्षले एकले अर्को लाई परिचालित भनेर आरोप लगाउने गरेका छन्। देउवा समूहले पौडेललाई प्रचण्डले राष्ट्रपतिको उम्मेदवार बनाउछु भनेकोले संसद पुनस्थापनाको रोइलो गरेको बताउँछ भने पौडेल-सिटौला पक्षले देउवाले संसद विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सँग साठगाठ गरेको आरोप लगाइरहेको छ।

कम्युनिष्ट पार्टीको विभाजनले कांग्रेसलाई नै विभाजनको संघारमा त पुर्याउदैन भन्ने प्रश्न पनि अहिले कतै कतै सुनिन थालेको छ।

यसै परिवेशमा देउवा पौडेल निवास पुगेका थिए।

त्यसमा पनि भावनात्मक रूपमा विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केही दिनअघि देउवासँग भेट गरेका थिए। भेटमा उक्त समूहले प्रतिनिधि सभा पुनस्थापनाको आन्दोलनमा सघाउन देउवालाई आग्रह गरेको थियो। र, संसद पुनस्थापना पछि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेको थियो।

जुन कुरालाई देउवाले पार्टीमा सल्लाह गर्छु भन्दै टारेका थिए। त्यहि कुराको सल्लाह गर्न पनि देउवा त्यहाँ पुगेका हुन्।

बोहोराटार निकट स्रोतका अनुसार भेटमा देउवाले पौडेललाई कम्युनिष्टहरु माथि कसरी विश्वास गर्ने भन्दै प्रश्न गरेका थिए। उनले पहिले पनि प्रचण्डले घात गरेको बताए। अहिले संसद विघटन विरुद्द भइरहेको प्रदर्शनमा काँग्रेस पनि मिस्सिए आन्दोलन निर्णायक हुने त्यसबेला अहिलेका प्रधानमन्त्रीले पार्टी एकताको खातिर मिलौं भनेर प्रस्ताव गरे त्यति बेला प्रचण्ड उतै जाने बुझाई देउवाको थियो।

तर जवाफमा पौडेलले कम्युनिष्ट जस्ता सुकै होऊन, संविधान र गणतन्त्रको रक्षार्थ काँग्रेस सडकमा जानुपर्ने बताएका थिए। उनले ओली चुनाव गराउने पक्षमा नरहेको धेरै सूचना आफूले पाएको पनि बताए। त्यसैले उनले काँग्रेसले आन्दोलनमा जानु पर्नेमा नै जोड दिएका थिए।

पौडेललाई उधृत गर्दै स्रोतले भन्यो, ‘संसद पुनस्थापना भयो भने पनि तपाई नै हो प्रधानमन्त्री आन्दोलनमा जाऊ।’ जवाफमा देउवाले, ‘त्यो त बुझे तर कम्युनिष्टको विश्वास हुदैन। पार्टी अझै पनि एक छ यिनीहरु अन्तिम समयमा मिल्छन् मिल्छन्। लेखेर राख्नुस्,’ भनेर देउवाले भनेको भन्दै पौडेलले निकटस्थलाई सुनाएका थिए।

जुनसुकै बेला आत्मआलोचना शब्द राखेर ओली र प्रचण्ड-नेपाल एक हुन सक्ने सम्भावना रहेकाले कानुनी रूपमा विभाजन नभई सहकार्य गर्न नसक्ने देउवाको जवाफ थियो।

त्यस्तै पौडेलको सचिवालय स्रोतका अनुसार सभापति देउवाले प्रतिनिधि सभा विघटन, निर्वाचन, केन्द्रदेखि प्रदेशसम्म हुन सक्ने सत्तारोहण र पार्टीको १४ औं महाधिवेशनबारे पौडेलसँग भलाकुसारी गरेका थिए।

प्रदेश नम्बर १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरूद्ध नेकपा प्रचण्ड-नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेका छन्। यी प्रदेशमा अब प्रदेश सभाको हिउँदे बैठक बस्ने बेला भएको छ।

प्रदेशहरूमा नेकपाको कुन खेमालाई सहयोग गर्ने वा कांग्रेसले मुख्यमन्त्री दाबी गर्ने कि मन्त्रीहरू मात्रै लिने भन्ने बहस पनि छ। यसबारे ‘पर्ख र हेर’को रणनीतिमा देउवा छन्।

प्रदेश नम्बर १ मा शेरधन राईलाई सघाउन सकिने र बागमती प्रदेशमा अहिलेका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर प्रचण्ड-नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई सघाउनेबारे कांग्रेसभित्र छलफल भइरहेको छ। यसबारे निर्णय प्रदेश संसदीय दलसँगको छलफलपछि केन्द्रीय समितिबाट औपचारिक रूपमै हुनेछ। कांग्रेसको प्रदेशमा पार्टी संरचना नभएकोले यस विषयमा केन्द्रीय समितिमै छलफल गरी टुंग्याउनु पर्ने हुन्छ। नेपालदिपबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x