समयमा निर्वाचन सम्पन्न नभए प्रधानमन्त्री ओलिको सरकार बिफल साबित हुने – यादव
राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले तोकिएकै समयमा निर्वाचन गर्न नसके प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असक्षम हुने टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको र अहिले उक्त मुद्दामा बहस जारी रहेकोले अदालतको फैसलालाई सबैले सम्मान गर्नुपर्ने उहाले बताउनुभयो । रिपोटर्स क्लबले बुधबार काठमाडौं गरेको साक्षात्कारमा उहाले अदालतले निर्वाचनको पक्षमा फैसला गरेको खण्डमा सरकारले समयमै निर्वाचन गराउनुपर्ने पनि विश्वास व्यक्त गर्नुभयो । यादवले मुलुकमा राष्ट्रपति शासन लागु हुने कुनै सम्भावना नभएको पनि जिकिर गर्नुभयो । उहाले संकटकाल भनेको अन्तिम अवस्थामा लागु हुने कुरा भएको सुनाउँदै यदि मुलुक संकटकालको अवस्थामा गए संविधान र डेमोक्रेसी नै नटिक्ने दाबी गर्नुभयो । यादवले निर्वाचन आयोगले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनेगरि सबै प्रक्रिया पूरा गरेको र सम्पूर्ण रुपमा सक्षम छौं भनेकोले तोकिएकै मितिमा निर्वाचन हुनेमा आफू विश्वस्त रहेको सुनाउनुभयो । सल्लाहकार यादवले राष्ट्रपति भण्डारीले संविधानअनुसार नै आफ्नो अधिकारको उपयोग गरेको र संविधानभन्दा बाहिर गएर केही पनि काम नगरेको बताउनुभयो ।
उहाले अहिले प्रतिनिधिसभा विघटनको विषय जल्दोबल्दो विषयको रुपमा रहेको सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदले सिफारिश गरेकोले राष्ट्रपतिले प्रतिनिधिसभा विघटनलाई अनुमोदन गरेको बताउनुभयो । संसद पूनःस्थापना र निर्वाचन दुवैको पक्षमा दुवै पक्षले सडकमा जनता उतारेकोमा उहाले आपत्ती जनाउनुभयो ।


