नयाँ जनादेश देशको अन्तिम बिकल्प
सर्वाेच्च अदालतको आदेशमा पर्सी फागुन २३ गते बस्न लागेको प्रतिनिधिसभा अधिवेशनको मूल मुद्धा के त ? स्वभाविक छ–प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास । यस प्रयोजनका लागि गत पुष ५ गते प्रचण्ड–माधव समूहको नेकपाले दर्ता गरेको प्रस्ताव यतिखेर सन्दर्भबिहिन भएको देखिएको छ । किनभने अबको सरकारको नेतृत्व गर्ने पात्र र दल उक्त प्रस्तावमा उल्लेखित भन्दा पृथक व्यक्ति हुने अवस्था निर्माण भएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै दर्ता गरिएको अविश्वास प्रस्तावमा नयाँ प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम उल्लेख गरिएको थियो । तर विघटित प्रतिनिधिसभा पुनस्थापना भएपछि भने राजनीतिक परिवेश फेरिएको छ । अब नेपाली कांग्रेस नै सत्ता समीकरणका लागि निर्णायक शक्ति बन्न पुगेको छ ।
सोही बमोजिम कांग्रेसलाई नयाँ सरकारको नेतृत्व गर्न राजनीतिक रुपमा विभाजित दुबै नेकपाले अफर गरेका छन् । यो विषयमा कांग्रेस आफैं चाहिं अनिर्णित भएको देखिन्छ । ओली सरकारविरुद्ध कांग्रेसले अविश्वास प्रस्ताव राख्ने की प्रचण्ड–माधवको प्रस्तावलाई अघि बढाउने भन्ने सन्दर्भमा कांग्रेस अहिले पनि विभाजित देखिन्छ ।
सत्ता समीकरणमा कांग्रेसले रुचि देखाएन भने देश फेरि डेडलकमा फस्न सक्छ । किनभने सर्वाेच्च आदेशको अन्तर्य भनेकाे नयाँ सरकार स्थापना गर्नु नै हो । ओलीको बेलगाम यात्रालाई नियन्त्रित गरी जिम्मेवार बनाउनका लागि नै सर्वाेच्चले कोर्स करेक्सन गरेको बुझ्न सकिन्छ । त्यसका लागि कांग्रेस निर्णायक रहेको छ । कांग्रेसको अनिर्णयले देशमा राजनीतिक अस्थिरता र अनिश्चय अझै थपिने हो । त्यसैले सर्वाेच्च अदालतको आदेशको सम्मान गर्नकै लागि भएपनि कांग्रेसले निकास दिनैपर्छ ।
कांग्रेसले आफूलाई जिम्मेवार बनाउने अभियानमा राजनीतिक स्वार्थको हिसाबसमेत गर्न सक्नुपर्छ । त्यसका लागि उसले नेकपाभित्रको विभाजित मानसिकतालाई व्यवहारमा उतार्न सक्नुपर्छ । ओली र प्रचण्ड–माधव समूहको विश्वास एकैसाथ लिने हो भने कांग्रेसले वैकल्पिक सरकार दिने मात्र होइन, अर्ली इलेक्सनको कार्ड समेत प्रयोग गर्नुपर्छ । किनभने ओलीको ध्याउन्न भनेको नयाँ जनादेश नै हो । त्यसका लागि कांग्रेसले उचित वातावरण बनाउन सक्छ । साथै, विभाजित नेकपाको शक्ति क्षय भएकै बेला निर्वाचनमा जान सक्दा मात्रै अपेक्षित लाभ प्राप्त हुन सक्छ ।
कांग्रेसले अबको एक वर्ष भित्र निर्वाचन गर्ने सर्तका साथ सत्ता समीकरण ग¥यो भने मात्रै सबैको जित हुने हो । केवल ओलीको सत्ता फ्ँयाकेर शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्र बनाउने खेल भयो भने त्यसले कुनै निकास दिंदैन । निकास भनेकै सबैको चित्त बुझ्ने अवस्थाको निर्माण हो । यस्तो स्थितिमा कांग्रेसले नेकपाका दुबै पक्षको विश्वाससमेत प्राप्त गर्न सक्छ ।
साथै, कांग्रेसका लागि चुनावबाट नयाँ शक्ति र उर्जा प्राप्त हुने देखिन्छ । नत्र फेरि सत्तामै रमाउने खेल हुन थाल्यो भने आगामी निर्वाचनसमेत कांग्रेसका लागि उपयोगी र फलदायी नहुन सक्छ । त्यसैले अबको सत्ता यात्रा अर्ली इलेक्सनकै लागि गर्ने सर्तका साथ कांग्रेसले गर्न आवश्यक छ । यसले अहिलेका सबै अन्योल र अनिश्चय चिर्न सघाउ पुग्ने अवस्था छ ।नेपालदिपबाट


