माधव नेपाल सङ लभ गर्दा कहाँ चुके प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा प्रधानमन्त्री केपी ओली इतर पक्षको मोर्चा बनाउने बताएका छन्। प्रचण्डले कांग्रेससहित जसपासँग मिलेर ओलीलाई अबको निर्वाचनमा चौथो दल बनाउने बताएका हुन्।
माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मोर्चा त बन्छ बन्छ र बनाउनै पर्छ भन्ने लागेको छ। मोर्चा बनाउनेमा चाहिं हामीहरु र नेकपा एमाले भित्रको एउटा पक्ष (माधव नेपाल)सँग मोर्चा त बनिराखेकै छ। उतापट्टिको भएपनि। त्यो लभ त गएको छैन नि। अर्को जसपाका नेताहरुसँग हाम्रो वेभलेन्थ धेरै नै मिल्छ। अहिले मात्रै मिलेको होइन उहिले देखि मिल्दै आएको वेभलेन्थ हो। त्यसकारण त्यहाँ मोर्चा बन्न सक्छ। जसपासँग मोर्चा अर्को पक्षसँग मोर्चा, र नेपाली कांग्रेससँग कम्तिमा सरकारमा सँगै र चुनावी तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छ।’
प्रचण्डले नेपाल पत्रकार महासंघको चुनावमा माओवादीकै पहलमा मोर्चाबन्दी गर्दा ओलीको समूहलाई चौथो नम्बरमा पुर्याउन सफल भएको बताए।
प्रचण्डले भने, ‘मोर्चा बन्यो भने जस्तो पत्रकार महासंघको चुनाव भयो त्यसको आव्हान कर्तापनि हामी नै भइयो र मुलभुत रुपमा जितियो देशैभरी र ओलीलाई चौथो नम्बरमा पुर्याइएको छ । तपाई हेर्नुहोला चौथो नम्बरमा पुऱ्याइएको छ। आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत गर्यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो त्यसपछि उनको विघटन शुरु हुन्छ।’
प्रचण्डले ओलीले आफ्नो तागतले सेटिङ नगरेको भन्दै देशी विदेशी शक्तिसंग मिलेर अप्राकृतिक र अनैतिक ढंगले नेकपालाई विभाजित गरिदिएको आरोप लगाए।
नेता माधवकुमार नेपाल- झलनाथ खनाल समूहसँग आफ्नो गहिरो ‘लभ’ परिरहदा सर्वोच्च अदालतले डिभोर्स गराईदिएको भन्दै, ‘लभ गर्नु हाम्रो गल्ती हो त?,’ भन्दै प्रश्न समेत गर्न भ्याए।
प्रचण्डले भने, ‘हाम्रो त लभ परिराख्या थियो। दुईवटा पार्टीको त लभ परेर तपाईहरुले देख्नु भयो नी। २८ गतेको आमसभामा म कसरी बोलेको थिएँ, माधवजी कसरी बोल्नुभयो, झलनाथ जी कसरी बोल्नुभयो। लभ नपरेको भए त्यसरी बोलिन्थिएन नी त। लभ परेको श्रीमान श्रीमतीलाई त अदालतले जबरजस्ती डिभोर्स गरिदिन पाइन्छ? लभ परिराखेकालाई डिभोर्स गर्ने यो त प्राकृतिक रुपले पनि अन्याय भयो।कतैबाट पनि मिल्ने कुरा हो त? अब अहिले दुलहादुलही रुदैं–रुदैं आफ्नो आफ्नो घरमा।’


