१२ मंसिर २०८३, शुक्रबार

मधेशि जनताका बाधक बन्दै उपेन्द्र ; जसपाका नेता-कार्यकर्तालाई तीन चरणमा रिहा गर्ने तयारी

एसीपी संवाददाता

१ बैशाख २०७८, बुधबार ०२:०२ मा प्रकाशित

सरकारले विभिन्‍न मुद्दा खेपिरहेका जनता समाजवादी पार्टीका नेता-कार्यकर्तालाई तीन चरणमा रिहा गर्ने तयारी गरेको छ ।

विभिन्न मुद्दामा थुना परेका ३८ कैदीबन्दीलाई तीन चरणमा सरकारले रिहा गर्ने सरकारी वार्ता टोलीकी सदस्य भगवती चौधरीले जानकारी दिइन् । कानुनी प्रक्रिया पूरा गरेर रिहाई गर्नुपर्ने भएकाले समय लाग्ने उनको भनाइ छ ।

‘एकैपटक सबैलाई छोड्ने परिस्थिति छैन । कानुनी प्रक्रिया पूरा गरेर सरकारले चरण चरणमा रिहा गर्छ,’ उनले भनिन् । मुद्दा चलेकामध्ये फरार सूचीमा रहेकाहरूले पहिलो चरणमा उन्मुक्ति पाउने चौधरीले बताइन् ।

पुर्पक्षमा चलान भएकाहरू भने प्रक्रिया पूरा गर्न समय लाग्ने उनले बताइन् । ‘पुर्पक्षमा रहेकाहरूलाई सरकारले बनाएको निर्देशिकामा आधारित रहेर महान्यायाधिवक्ता कार्यालयका वकिलहरूले छानविन गरी प्रक्रिया पूरा गर्दै रिहा गर्नुपर्ने भएकाले समय लाग्ने देखिन्छ,’ उनले भनिन् ।

०६८ मा बाबुराम भट्टराई नेतृत्वको सरकारले द्वन्द्वकालीन घटना भन्दै ३ सय ६७ जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । यसविरुद्ध परेको रिटमा ३० पुस २०७२ मा सर्वोच्चको संवैधानिक इजलासले दुई तहका अदालतबाट भएका फैसलासम्बन्धी मुद्दा सरकारले फिर्ता गर्न नमिल्ने फैसला सुनाएको थियो ।

फौजदारी न्यायको राजनीतिकरणको खतरा हुने भएकाले अदालती प्रक्रियामा गएका मुद्दा फिर्ता गर्न नहुने फैसला त्यसबखत भएको थियो । ‘कार्यकारी (प्रधानमन्त्री) प्रभाव वा पहुँच भएकाहरूको हकमा फौजदारी न्याय खेलौनाजस्तो बन्ने हुँदा सरकारले चाहँदैमा अदालती प्रक्रियामा गएका मुद्दा फिर्ता गर्न मिल्दैन । फौजदारी न्यायका मुद्दा फिर्ता कार्यकारी (सरकार) निर्णयकै भरमा हुने हो भने न्यायको जरोमा नै स्वेच्छचारिता प्रभावी हुन्छ,’ फैसलामा भनिएको थियो ।

यही कारण पनि एकैपटक कैदीबन्दी रिहा गर्न सरकारलाई अप्ठ्यारो परेको हो । यसअघि समेत सर्वोच्चले राजनीतिक निर्णयका भरमा अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ता लिन नहुने नजिर स्थापित गरिसकेको छ ।

३ वैशाखसम्म सरकारले दुईवटा अदातलमा मुद्दा नपरेका कैदीबन्दीलाई रिहा गर्ने तयारी गरेको छ । जसपाका १२ सय कार्यकर्तालाई २४ वटा मुद्दा चलाइएको थियो । उनीहरूको विगो सरकारले भर्नुपर्ने सहमति भएको कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले बताए ।

RITZShikhar Insurance
बिहीबार बस्ने मन्त्रिपरिषद्‍ बैठकमार्फत यसको निर्णय गर्ने आश्वासन प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई दिएका छन् । ‘हामीले सरकारलाई यो निर्णय छिट्टै गर्नु भनेका थियौँ । सरकारले हालसम्म गरेको छैन । अबको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले निर्णय गर्ला,’ जसपाका तर्फबाट कार्यदल सदस्य रहेका लक्ष्मणलाल कर्णले भने ।

सरकारले तीन चरणमा निर्णय लिने भने पनि जसपाले भने एकैचरणमा रिहा गर्नुपर्ने अडानमा छ । ‘सरकारले चरण-चरणमा भने पनि हामीले एउटै निर्णयमा मुद्दा फिर्ता गर्नुस् र कार्यकर्ता रिहा गर्नुस् भनेका छौँ,’ कर्णले भने ।

यो विषयमा छलफल गर्न कार्यदलको बैठक मंगलबार पनि बसेको थियो । जसपाबाट प्रतिनिधिसभा सदस्य रहेका रेशम चौधरी, प्रदेश २ का सांसद रहेका कौशल यादव, प्रदेश २ मा सामाजिक विकास राज्यमन्त्री रहेका अविराम शर्मा, नेता सुरेश पाण्डे, पवन सिंहलगायतले मुद्दा खेपिरहेका छन्।

नयाँ गठबन्धन निर्माणका लागि जसपाले आफ्ना कार्यकर्ता रिहाईलाई पहिलो शर्त बनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x